सुनसरी प्रहरीले बरामद गर्यो एसएमजी राइफल र गोली
सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिकाबाट कुखुराको खोर मुनी गाडेर राखेको अवस्थामा एसएमजी राइफल र १० हजार थान गोली बरामद गरेको छ ।
विष्फोटक पदार्थ रहेको सूचनाका आधारमा बराहक्षेत्र नगरपालिका वडा नं ५ बाट आधुनिक हतियार एसएसमजी सहित सो परीमाणमा गोली बरामद गरेको हो।
प्रहरीले खण्डहर कुखुराको खोरको सिमेन्टेड भुँइ मुनी गाडेर राखेको अवस्थामा एकथान एसएमजी र ९ हजार ९ सय ८२ वटा गोली खिया लागेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।
कुखुराको खोर २०६७ सालमा निर्माण गरिएको थियो । विष्फोटक पदार्थ रहेको सूचना पाएपछि नेपाली सेनाको बम डिष्पोजल टोलीसहित पुगेको प्रहरीले हतियार बरामद गरेको हो ।
बरामद हतियार तत्कालिन माओवादी कार्यकर्ताले लुकाएर राखेको हुनसक्ने प्रहरी बताएको छ ।