परालै सिरक, परालै डस्ना !

हेटौडा न्युज
९ पुष २०७६, बुधबार १४:२७
;

झुपडीभित्र पराल बिछ्याइएको छ । रातभरको ओसले पराल पनि ओसिलो छ । त्यसमाथि च्यातचुत परेको एउटा प्लास्टिकको बोरा ओछ्याएर जेनतेन शीतलहरमा रात काट्छिन रेमनी सदा ।

धनुषा लक्ष्मीनिया गाउँपालिका–७ मुसहरी टोल निवासी रेमनीका पति तीन वर्षअगाडि बितेका थिए । छोराबुहारी र नातिनातिनाले घर छाडेर गएपछि रेमनीलाई अहिले खानबास्नकै समस्या छ । उनलाई यतिबेला शीतलहरले हैरान पारेको छ ।

लक्ष्मीनियाको मुसहरी टोलमा परालको ओछ्याउनामा सुतेकी रेमनी सदा । आफ्नो खेत पनि छैन उनको । अर्काको खेतबाट माँगेर ल्याएको पराललाई जाडोमा ओढ्ने–ओेछ्याउने बनाएर जाडो छल्ने प्रयास गर्छिन् उनी। पाँच वर्षअघि केही सहयोगीले बस्तीमा ओढ्ने पात्लो कम्बल बाँडेका थिए । सोही कम्बलको सहारामा छिन् उनी ।

मुसहरी टोलका करिब ८० परिवार अति विपन्न मुसहर चिसो परालकै भरमा रात कट्दै आएका छन् । श्रीवतीदेवी सदा चार छोराछोरीसँगै झुपडीमा परालकै ओछ्यानमा शीतलहर काट्दै छिन् । छोराछोरीका लागि केही न्यानो लुगा जोहो गर्न पाए जाडो काट्न सजिलो हुने बताउँछिन् उनी ।

स्थानीय शत्रुधन महतो सरकारले विपन्न समुदायको सहयोगमा चासो नलिएको बताउँछन्। ‘कठ्यांग्रिदो चिसोमा कम्तीमा मुसहर बस्तीमा दाउरा र कम्बल वितरण गर्न सरकारले चासो देखाउनुपर्छ,’ महतोले भने । अभियान पनि सहर केन्द्रित नै रहेको हुँदा गाउँटोल र विपन्न परिवारलाई कसैले नहेरेको स्थानीयको गुनासो छ ।

अभियान सहर केन्द्रित

जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले शीत लहर पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले भने, ‘हुनेले नहुनेलाई कम्तीमा एउटा न्यानो कपडा दिएर सहयोग गरौं भन्ने अभियान आफंैबाट सुरु गरौं ।’

विपन्नलाई न्यानो लुगा वितरण गर्ने कार्ययोजना पनि समितिले ल्याएको छ । यसका लागि स्थानीय तह वा प्रहरीको रोहबरमा तथ्यांक संकलन गरिनेछ । संघसंस्था अन्य निकाय, व्यक्ति समुदायले बाँड्ने न्यानो लुगा र दाउरा वितरण लगायतका अभियान सहर केन्द्रित छन् । आजको अन्नपुर्ण पोष्टमा समचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*