आजदेखि हात्ती महोत्सव, महोत्सवको विरोधप्रति प्रचण्डको असन्तुष्टि
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हात्ती महोत्सवको विरोधप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आज बिहीबारदेखि सुरु भएको महोत्सवको उद्घाटन समारोहमा प्रचण्डले बोल्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने आजकाल कोहीकोही आफूलाई निक्कै बुझक्कड ठान्ने मानिसहरुले मानिस र जनावरको सम्बन्धमा दरार पैदा गर्न खोज्छन्, त्यो निकै दुखद पक्ष हो ।’
महोत्सवको तयारी गर्दा मानिसले वर्ष दिनभरी हात्तीलाई कसरी मोटो, राम्रो र सुन्दर बनाउन मेहनत गर्ने र महोत्सवमार्फत हात्तीले व्यवसायमा लाभ गराउने गरेको उनले बताएका छन् ।
हात्तीको प्रयोग मानिसले मात्र होइन भगवानले पनि कसरी प्रयोग गर्ने गरेका थिए भनेर पुराण, धार्मिक ग्रन्थहरुमा चर्चा गरिएको भन्दै उनले प्रकृतिको यो नियम विपरीत जान खोज्नु गलत भएको बताएका छन् ।
पशु अधिकारको क्षेत्रमा काम गर्दै आएकाहरुले महोत्सवका नाममा हात्तीलाई यातना दिएको भन्दै विरोध गर्दै आएका छन् ।