हेटौंडामा पहिलो पटक अफरोड साइक्लिङ्ग रेस
हेटौंडा राइर्डस क्लबको आयोजनामा हेटौंडामा पहिलो पटक अफरोड साइक्लिङ्ग च्याम्पियनसिपको आयोजना गरिएको छ ।
साईक्लिङ्ग च्याम्यिनसिप मकवानपुरगढी गाउँपालिकाको कार्यालय, लक्ष्मण साइकल स्टोर्स र न्यू आर्यतारा ज्वेर्लस हुप्रचौरको मुख्य प्रायोजनमा भएको हो ।
आयोजकका अनुसार साइक्लिङ्गमा भाग लिनेहरु हेटौंडा उपमहानगरपालिका सहित गढि गाउँपालिकाको अफरोडको परिक्रमा गरीसकेपछि प्रतियोगिता सम्पन्न हुनेछ ।
सामरी पुलबाट सुरु भएको २५ किलोमिटर लामो साइक्लिङग रेस मकवानपुरगढीको वडा ५ र ६ साविक आमभञ्ज्याङको डुम्रेकुना बाट वडा २ बाँसपानी हुदैं शिकरकटेरी वडा ३ को मक्रान्चुली पुगेर हेटौंडा उपमहानगरपालिका ५ पिप्लेकुना हुदै हेटौंडा ४ स्थित खाना महोत्सव स्थल पुगेर समापन हुने आयोजकले बताएको छ ।
भ्रमण वर्ष २०२० को अवसरमा पारेर साइक्लिङ्ग च्याम्पियनसिपको आयोजना गरेको र च्याम्पियनमा देशका विभिन्न शहर हेटौंडा, काठमाडौं दाङ, धरान, निजगढ, सिमरा ,चितवनका राष्ट्रिय स्तरका ४ महिला सहित ४१ साइकिलिस्टहरुको सहभागिता रहेको आयोजनाले जनाएको छ । साईक्लिङ्ग रेसको सुरुवात जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले सिठ्ठी बजाएर गरेका थिए ।
रेसमा प्रथम हुनेले ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार नगद प्राप्त गर्ने छन् । त्यसैगरी च्याम्पियनसिपमा सहभागिता मध्ये ४० वर्ष माथीको एक जना साइकललिस्ट लाई उत्कृष्ट घोषित गरि २० हजार बराबरको साईकल पुरस्कार प्रदान गरिने छ ।










