आपराधिक गतिविधि नियन्त्रणमा कडाईका साथ लाग्नेछु : एसपी राठौर
मकवानपुरमा सरुवा भई एसपि (प्रहरी उपरीक्षक) सुशिल सिंह राठौरले आज मकवानपुरका सञ्चारकर्मीहरुसँग परिचयात्मक कार्यक्रम गरेका छन् । जिल्लामा हिजो आईपुगेका राठौरले परिचयात्मक कार्यक्रममा बोल्दै आपराधिक गतिविधि, लागूऔषध ओसार प्रसार नियन्त्रण, ट्राफिक व्यवस्थापनमा कडाईका साथ लाग्ने बताएका छन् । प्रहरी एक्लैबाट समाजमा शान्ति सुरक्षा असम्भव रहेको बताउदैं एसपी राठौरले सबैको समन्वयमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताएका छन् ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षकहरु हरिबिष्णु ढकाल, ललन प्रसाद कुर्मी, अमरप्रसाद गजमेर, सुजन पाठक, नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, प्रदेश ३ महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाई लगायत जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो । मकवानपुरका एसपी मुकेशकुमार सिंहको अपराध अनुसन्धान, टेकु काठमाडौंमा सरुवा पछि जिल्ला प्रहरी प्रमुखका रुपमा एसपी राठौर मकवानपुर आएका हुन् ।