मकवानपुरको इन्द्रसरोवरमा प्याराग्लाइडिङ

हेटौडा न्युज
१६ पुष २०७६, बुधबार १७:१६
;

प्रदेश ३ सरकारले मकवानपुरको इन्द्रसरोवरमा प्याराग्लाइडिङको परीक्षण उडान गरी अंग्रेजी नयाँ वर्षसँगै पर्यटन वर्ष २०२० को स्वागत गरेको छ ।

मानवनिर्मित इन्द्रसरोवर जलाशय किनारमा पर्यटन वर्षमा व्यावसायिक उडान गर्ने गरी मंगलबार प्याराग्लाइडिङको परीक्षण गरिएको हो । इन्द्रसरोवरको गुम्बाडाँडाबाट ४ जना प्याराग्लाइडरले उडान गरेका थिए ।

उडान गर्ने प्यराग्लाइडरहरू इन्द्रसरोवरका विशाल लामा, पोखराका पवन शर्मा, नारायणप्रसाद तिवारी र दावा शेर्पा हुन् । इन्द्रसरोवरबाट करिब पाँच सय मिटर उचाइमा रहेको गुम्बाडाँडाबाट प्याराग्लाइडिङ उडान उपयुक्त रहेको प्याराग्लाइडर विशालले बताए । ‘उपयुक्त ठाउँ छ, करिब आधा घण्टा आकाशमा उडेर यस क्षेत्रका मनोरम दृश्यावलोकन गर्न सकिन्छ,’ उनले भने ।

पर्यटन वर्ष लक्षित गरी आवश्यक प्रक्रिया पूरा गरेर प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने गाउँपालिका अध्यक्ष जीवन लामाले बताए । ‘हामीले पर्यटन वर्षको मुख्य आकर्षणको रूपमा इन्द्रसरोवर जलाशयमा मोटरबोटसँगै प्याराग्लाइडिङ थप गर्छौं,’ उनले भने । स्रोत : कान्तिपुरदैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*