दुई वटा ऐनसेल टावरमा आगजनी, टावर ध्वस्त
धादिङको एनसेलको टावरमा आगजनी गरिएको छ । धादिङको थॉक्रे–५, जुरेथुमस्थित रहेको एनसेल टावरमा बुधबार बिहान आगजनी गरिएको हो । आगजनीबाट मोबाइलको रेडियो सेट, जेनेरेटर र अन्य उपकरणमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ जनाको टोली पठाइएको एसपी रविन्द्र रेग्मीले जनाएको छ । आगजनीस्थल वरपर नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ पिलुवामा रहेको एनसेलको टावरमा मंगलबार साँझ अज्ञात समूहद्वारा आगजनी गरीएको छ । आगलागीबाट टावर ध्वस्त हुनुका साथै घटना कस्ले गरायो भन्ने कुरा यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । घटनास्थल शसस्त्र प्रहरी बल भद्रकालि गणबाट ५० मिटरको दुरीमा पर्दछ। टावर ध्वस्त भएसँगै उक्त स्थानमा एनसेलसँगको मोवाइल सम्पर्क बिच्छेद भएको छ।