सागमा स्वर्ण पदक जित्ने मकवानपुरका ओझा नगद सहित सम्मानीत
सामाजिक संस्कार सेवा समिति कर्राले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्न सफल मकवानपुरका सञ्जीव कुमार ओझालाई नगद सहित सम्मान गरेको छ ।
शुक्रबार समिति कर्राले एक कार्यक्रमको आयोजना गरेर स्वर्ण पदक विजेता ओझालाई नगद ४० हजार रुपैयाँ सहित सम्मान गरेको हो । कार्यक्रममा प्रशिक्षक माधव कोइरालालाई समेत सम्मानीत भएका छन् ।
ओझालाई समितिको तर्फबाट ५ हजार, हेटौंडा उपमहानगरपालिका वडा नं ४ को कार्यालयको तर्फबाट १० हजार र कर्रा टोलवासीको तर्फबाट २५ हजार नगद सहित सम्मान गरीएको थियो ।
समितिका अध्यक्ष अम्बरबहादुर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका सचिव शालिकराम ढकाल, मुद्रण व्यवसायी संघका अध्यक्ष अजीव भट्टराई, कर्रा नेटवर्कका अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, हेटौंडा–४ का वडासदस्य राजेन्द्र वस्ताकोटी, हेटौंडा उपमहानगरपालिकाका अधिकृत रामकृष्ण थापा, इञ्जिनियर विवेक कार्की, तेक्वान्दो संघ मकवानपुरका सचिव विक्रम लामिछाने, सामाजिक संस्कार सेवा समितिका सचिव विमल श्रेष्ठ ‘टोनी’ लगायतको उपस्थिती रहेको थियो ।










