शिक्षकबाट निर्घात कुटिए विद्यार्थी, प्रहरीले लिएन उजुरी
रूपन्देहीमा एक विद्यार्थी शिक्षकबाट निर्घात कुटिएका छन् । सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् ।
कुटाइबाट १० वर्षीय बालक धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ । धुनियाका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको बताएका छन् ।
तर, ज्ञानदीप बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको बताएका छन् ।
प्रहरीले भने उजुरी लिन नमानेको धनियाँका परिवारले गुनासो पोखेका छन् । शिक्षकबाट आफ्नो सन्तान निर्घात कुटिए पनि प्रहरीले उजुरी लिन नमानेको गुनासो परिवारका सदस्यले गरेका छन् ।
तर, मचर्चवारका कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालले प्रक्रिया नपुर्याइ उजुरी आएकाले दर्ता नगरिएको बताए ।