१ लाख ६० हजार घुस रकमसहित अध्यक्ष र कोषअध्यक्ष पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ६० हजार घुस सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । कन्चनपुरबाट खटिइएको आयोगको टोलीले कैलालीको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर लाई घुस रकम सहित पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका-१२ मा रहेको सामुदायिक वन क्षेत्रबाट माटो झिक्न प्रयोग भएका डोजर र ट्याक्टर छाड्ने क्रममा सेवाग्राहीसँग सो रकम लिँदै गरेको अवस्थामा दुबै जना पक्राउ परेका हुन् ।
कानीखोला पुल नजिकबाट माटो झिकिरहेको अवस्थामा सामुदायिक वनले डोजर र ट्याक्टर नियन्त्रणमा लिएपछि उक्त डोजर र ट्याक्टर छाड्नका लागि घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिइएको टोलीले थापा र सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएको छ ।