७५ हजार घुस रकमसहित नापी कार्यालयका सर्वेक्षक रंगेहात पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित रंगेहात पक्राउ गरेको छ । आयोगले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई ७५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयका प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले नापी कार्यालयअन्तर्गत २ नं. नापी टोलीको कार्यालय वीरगञ्जबाट पासवानलाई सोमबार पक्राउ गरेको हो ।
वीरगञ्ज–९, रानीघाटस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक पासवानले जग्गा हाल साबिक गरी पुनः नापी जग्गाधनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस मागेको सूचनापछि स्ट्रिड अप्रेसन गरेको अख्तियारको टोलीले रंगेहात उनलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएको छ ।