ट्रकको ठक्करबाट न्यूयोर्कमा एक नेपाली बालक, आमा घाईते
ट्रकको ठक्करबाट न्यूयोर्कमा एक नेपाली बालकको मृत्यु भएको छ । न्युयोर्क शहरको फोहोर संकलन गर्ने ट्रकले ठक्कर दिँदा १० वर्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको र उनकी आमा मिना पन्थी घाइते भएको हो । दुर्घटनालगत्तै आमा-छोरालाई एल्महस्र्ट अस्पताल लगेपछि उपचारको क्रममा मृत्यु भएको स्थानीय अनलाइनहरुले समाचार लेखेका छन् । ।
‘ट्रकले श्रीजलको छातीमा र मिनाको खुट्टामा कुल्चिएको थियो,’ न्यूयोर्क डट सीबीएस लोकल डटकमले लेखेको छ, ‘आमा बालक भए ठाउँमा पुग्न खोजिन् तर खुट्टा भाँचिएका कारण सकिनन् ।’
मृतक बालकका बाबुको नाम पुरुषोत्तम पन्थी भएको खुलेको छ । पन्थी लेफ्राक सिटीको फ्रेन्डस् अफ द पब्लिक लाइब्रेरीका बोर्ड सदस्य हुन् । क्वीन्सस्थित लेफ्राक सिटीमा बस्दै आएका पन्थी परिवारको नेपालको ठेगाना भने खुलेको छैन ।
गैरआवासीय नेपाली संघ न्यूयोर्क शाखाका अध्यक्ष रामहरी अधिकारीले यो घटनाले नेपाली समुदायमा ठूलो क्षति पुगेको बताएका छन् ।