लाख दिएर करोड असुल्ने राजपाका केन्द्रीय सदस्य रामबाबु यादव पक्राउ
चर्को ऋण लगानी गरेर सोझासिधा सर्वसाधारण ठगी गर्ने राजपाका केन्द्रीय सदस्य रामबाबु यादवलाई प्रहरीले पक्राउ गरेको छ । चर्को ऋण लगानी गरेर सोझासिधा सर्वसधारण ठगी गरेको भन्दै सर्लाहीका तीन दर्जन पीडित काठमाडौं आएपछि उनलाई पक्राउ गरेको हो । सर्लाहीको हरिपुर चेकप्वाइन्टबाट बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई पक्राउ गरेको हो।
आफूहरुमाथि ठगी गरेको भन्दै काठमाडौं आइपुगेका सर्लाही वरहथवाका रामबाबु राय यादव र ब्रह्मपुरी भित्रुवनगरका सन्जय साह रौनियार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र केन्द्रीय सदस्य डाचाराज वाग्लेको सम्पर्कमार्फत काठमाडौं आइपुगेका थिए । मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपालदेखि गृहसचिव र प्रहरी प्रमुखसम्मको उपस्थितीमा आफ्नो पीडा सुनाएका थिए।
दाहाल निवास खुमलटारमा मंगलबार पुगेका पीडितले दाहाल, वरिष्ठ नेता नेपाल, प्रवक्ता श्रेष्ठ, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल र गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदीको उपस्थितीमा आफूहरु ठगिएकोबारे जानकारी गराएका थिए।
यसरी काठमाडौं आउनेमा सर्लाही जानकी नगरपालिकाका रामविहारी महतो, वरहथवाका असर्फी महतो, विन्देश्वर महतो, कपुरी ठाकुरलगायत तीन दर्जन छन्।