उपचार नपाएर मुगुमा सुत्केरीको ज्यान गयो
समयमै स्वास्थ्य संस्था र एम्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नपाउँदा यहाँ एक महिलाको मृत्यु भएको छ।
मुगुको छायाँनाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकको बुधबार बिहान सुत्केरी भएपछि अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हो।
थप उपचारका लागि जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न नसक्दा उपचार नपाएर उनको अकालमै ज्यान गएको श्रीमान् रामबहादुर विकले बताए।
‘घरमै सुत्केरी भए पनि सालनाल नभएको र अत्यधिक रक्तश्राव भएपछि छिटो जिल्ला अस्पतालमा पुर्याउन नगरपालिका र जिल्ला अस्पतालका एम्बुलेन्सलाई खबर गर्न खोज्यौँ, मोबाइलका टावर नहुँदा सम्पर्क हुन सकेन, बोकेरै अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भयो’, रामबहादुरले भने।
आमाको बाटैमा मृत्यु भएपछि नवजात बच्चाको विचल्ली भएको छ । रासस