शुल्क वृद्धि विरुद्ध रिले अनसन जारी, सहायक क्याम्पस प्रमुख क्याम्पस छिर्न रोक
मकवानपुर बहुमुखी क्याम्पस क्याम्पस प्रशासनले गरेको शुल्क वृद्धि गर्ने निर्णय खारेजीको माग राख्दै अनसनरत विद्यार्थीको रिले अनसन आज तेस्रो दिन पनि जारी रहेको छ ।
क्याम्पस संचालक समितिले शुल्क बढाउने निर्णय फिर्ताको माग गर्दै विद्यार्थी नेताहरु अनसन बसीरहेका छन् । बिद्यार्थीको ढाड सक्ने गरी क्याम्पस प्रशासनले गरेको निणर्य प्रति स्ववियु तथा विभिन्न विद्यार्थी संगठनका नेताहरुले आन्दोलन गरीरहेका छन् ।
हिजो बुधबार क्याम्पस प्रशासन, स्ववियु र बिद्यार्थी संगठनहरुको वार्ता निश्कर्ष विहिन भएको थियो ।
वार्तामा क्याम्पस प्रशासनले क्याम्पस घाटामा रहेको भन्दै निर्णय फिर्ता लिन नसकिने जवाफ दिएपछि विद्यार्थीहरुले आफ्नो आन्दोलन पनि नरोकिने बताएको क्याम्पसका स्ववियू सभापति कुमार केशीले जानकारी दिए । उनले भने जती दिन अनसन बस्नु परे पनि बस्छु तर शुल्क वृद्धि मान्दिन ।
क्याम्पसमा स्ववियु सभापति कुमार केसी, उपाध्यक्ष शिशिर पराजुली, सचिव आकाश अधिकारी, सदस्य सौरभ अधिकारी, अनेरास्ववियू क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्यम्पस कमिटीका अध्यक्ष रामकृष्ण शिवाकोटीको रिले अनशन आज विहीबार तेस्रो दिन पनि जारी रहेकोछ ।
उता नेवि संघ मकवानपुर क्याम्पस कमिटीले भने शुल्क वृद्धिको विरोधमा हस्ताक्षर अभियान चलाइरहेको छ । नेवि संघ क्याम्पस कमिटीका संयोजक सन्तोष चौलागाईका अनुसार हस्ताक्षर अभियान संगै आज बिहिबारबाट सहायक क्याम्पस प्रमुखहरुलाई क्याम्पस छिर्न रोक लगाएको बताएका छन् ।
आन्दोलित विद्यार्थी संगठनले क्याम्पसको प्रशासन शाखा, क्याम्पस संचालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखको कार्य कक्ष र कर्मचारी कक्षमा ताला लगाइदिएका छन् । उता क्याम्पस प्रशासन भने संचालक समितीसंग छलफल चलीरहेको बताउदै आएको छ ।
गत पुष २० गते बसेको क्याम्पस संचालक समितिको बैठकले भर्ना शुल्कमा सय प्रतिशत र मासिक शुल्कमा ६५ प्रतिशत बढाउँने निर्णय गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका छन् ।