चलचित्र ‘कोपीला’ को विषेश च्यारेटी शो हेटौंडामा
माघ १० गते मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपिला’ को विशेष च्यारेटी शो आयोजना गर्ने भएको छ । हेटौँडाको एनएस सिनेमाहलमा आयोजना गरिने च्यारेटी शो विशेष कार्यक्रमका साथ आयोजना गर्न लागिएको मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोइरालाले बताएका छन् ।
शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कोइरालाले च्यारेटीमार्फत उठेको रकमबाट च्यारेटी शो का दिन निर्मलाको परिवारलाई हेटौँडा बोलाएर सहयोगका रुपमा ५० रकम हस्तान्तरण गर्ने बताएका छन् ।
उनले भने गत वर्ष हामीले पंचायत चलचित्र च्यारेटी शो गरेर सामाजिक कार्य गरेका थियौं, यो वर्ष पनि उठेको रकमबाट निर्मला पन्तको परिवारसँगै अन्य सामाजिक क्षेत्रमा सहयोग गर्नेछौँ ।
च्यारेटी शो कार्यक्रममा चलचित्रका कलाकारको समेत उपस्थिति रहने बताइएको छ । पत्रकार सम्मेलनमा चलचित्रका निर्माता मणिराज गौतमले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा चलचित्र ‘कोपिला’ बनेको बताउँदै चलचित्रलाई पहिलो पटक च्यारेटीमार्फत दर्शकमा देखाउन लागिएको बताएका छन् ।
स्व निर्मला पन्तको परिवारसँग अनुमती लिएर चलचित्र बनाएको निर्माता गौतमले चलचित्रले सामाजिक कथा बोकेको बताएका छन् । चलचित्रलाई नेपाल सरकारले सेन्सरसमेत पास गरिसकेको छ ।
यो फिल्ममा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनीतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति समावेस गरिएको निर्माता एवं संचारकर्मी मणिराज गौतमले बताए । निर्मलालाई ‘कोपिला’ को पात्रमा राखिएको यो चलचित्रमा ‘कोपिला’ को भूमिकामा संजिबनी खरेलले अभिनय गरेकी छिन।
चलचित्रमा संजिबनीसँगै गणेश गिरि, सरिता गिरि, ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ। गणेश गिरिको प्रस्तुती रहेको चलचित्रको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाकार रामेश्वर कार्की रहेका छन्। दीपक शर्माको संगीत रहेको चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका छन। यसअघि अधिकारीले पंचायत चलचित्र निर्देशन गरेका थिए ।