नयाँदिल्लीबाट ६५ लाख भारतीय रुपैँया चोरी, कैलालीबाट तीनजना पक्राउ
चोरीको रकम ६५ लाख भारतीय रुपैँयासहित तीनजना कैलालीबाट पक्राउ परेका छन् । भारतको नयाँदिल्लीबाट चोरेर ल्याएको सो रकमको नेपाली रुपैयाँ १ करोड २ लाख बढी हुन आउँछ ।
पक्राउ पर्नेमा बाजुरा बूढीगंगा नगरपालिका १, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापा रहेका छन् । जहर र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए । यस्तै उनीहरूबाटै थप एक लाख नेपाली रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरूले उक्त रकम नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट चोरी गरेका थिए । कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार चोरीएको रकमबारे भारतीय दूतावासले नेपाल प्रहरीलाई जानकारी गराएको थियो ।
कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्टो खनेर टिनको बाकस गाडिएको अवस्थामा फेला परेको हो ।