प्राकृतिक विपत्तिबाट बच्न सजगता अपनाउन प्रम ओलीको आह्वान
प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक सजगता अपनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका छन् । २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री ओलीले आज सन्देश जारी गर्दै भूकम्पको जोखिममा रहेको नेपालजस्तो भुपरीवेष्ठित राष्ट्रमा प्राकृतिक विपदबाट जोगिन र नेपाली सबैलाई त्यसको सामना गर्दै बच्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
सन्देशमा उल्लेख गरिएको छ, “हामीले राज्य संरचनाका अङ्गहरुमा मात्र विपद् व्यवस्थापनका पक्षलाई सबल बनाएर मात्र पुग्दैन, समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउन जरुरी छ, त्यसका लागि हामीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेका छौँ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनःनिर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात् गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका दिशामा सरकार अग्रसर भएको उल्लेख गर्दै जनसमुदायलाई भूकम्प प्रतिरक्षाका लागि सजग र तत्पर बनाउने तथा त्यसबाट हुने जनधनको क्षतिसम्बन्धी दुखद् अनुभवलाई विस्मृतिमा जान नदिने उद्देश्य रहेको सन्देशमा प्रष्ट प्रष्ट पारिएको छ ।
भूकम्प प्रभावित क्षेत्र मात्रै नभएर सिङ्गो मुलुकलाई सुरक्षित र भूकम्पबाट अधिकतम रुपमा सुरक्षित बनाउन सरकारले प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरिरहेको प्रम ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको विपद्लाई न्यूनीकरण र सामना गर्न पूर्वतयारी कार्यमा विशेष ध्यान दिनैपर्ने बताउँदै त्यसका निम्ति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेका छन् ।