बागमती प्रदेशमा धान उत्पादन १० प्रतिशतले घट्यो
गरिमा धानको नक्कली बिऊ र फौजी किराको आक्रमणका कारण बागमती प्रदेशमा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान उत्पादनमा यसवर्ष १० प्रतिशतले गिरावट आएको प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै जिल्लामा गरी यस वर्ष चार लाख ६३ हजार एकसय ७३ मेक्ट्रिक टन धान उत्पादन भएको छ । जुन गत वर्षको तुलनामा ५३ हजार दुईसय ७७ टन कम हो ।
समयमा मनसुन नभईदिदा रोपाँई गर्न नपाएकोले पनि उत्पादन घटेको मन्त्रालयको भनाइ छ । गत वर्षको तुलनामा यसवर्ष धान लगाउने क्षेत्रफलसमेत दुईहजार सातसय ३१ हेक्टरले घटेको छ । अघिल्लो वर्ष एक लाख ३४ हजार दुईसय ९९ हेक्टर जमिनमा धान खेती गरिएको थियो भने यस वर्ष एक लाख ३१ हजार पाँच सय ६८ हेक्टर जमिनमा मात्रै धान खेती भएको मन्त्रालयका प्रवक्ता डा. शरणकुमार पाण्डेले जानकारी दिए ।
१.८७ प्रतिशत उत्पादकत्व भएको रसुवाले गत वर्ष ३ हजार ५ सय ९६ टन धान उत्पादन गरेकोमा यस वर्ष उत्पादकत्व एक.८७ प्रतिशत पुग्दा धान उत्पादन भने तीन हजार पाँचसय एक टनमा झरेको छ । यस्तै ललितपुरमा गत वर्ष २४ हजार ८ सय ४ टन धान उत्पादन भएकोमा यस वर्ष १५ हजार एकसय ३० टनमा झरेको छ । ललितपुरको उत्पादकत्व पनि घटेर ३.६२ मा झरेको छ । ३.३८ प्रतिशत उत्पादकत्व भएको काभ्रेको गत वर्ष ३४ हजार एकसय १८ टन धान उत्पादन गरेकोमा यस वर्ष उत्पादन र उत्पादकत्व दुवै घटेको छ । उत्पादकत्व २.५७ प्रतिशतमा झर्दा उत्पादन घटेर २९ हजार एकसय ४३ टन भएको छ ।
काठमाडौंमा गत वर्ष ३६ हजार ६ सय ८८ टन धान उत्पादन भएकोमा यस वर्ष भने बढेर ४४ हजार तीनसय ५५ टन पुगेको छ । धानको उत्पादकत्व ५.९२ प्रतिशत पुगेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता पाण्डेका अनुसार धादिङमा १३, नुवाकोटमा २.१४, भक्तपुरमा ०.७३, सिन्धुलीमा ८.३८, दोलखामा ६.९९, चितवनमा ३.३१ र मकवानपुरमा दुई.१७ प्रतिशत धान उत्पादन घटेको छ । स्रोत : कारोवार डेली