क्याम्पस डिनको कार्यकक्षमा ताला, २७ दिन देखि विद्यार्थी आन्दोलित

हेटौंडाको कृषि तथा वन विश्वविद्यालयमा विद्यार्थीहरुको आन्दोलनका कारण पठनपाठन ठप्प रहेको छ । विगत २७ दिन देखि विद्यार्थीहरु कृषि वन क्याम्पसको डिनको कार्यकक्षमा ताला लगाएर धर्ना बसेका छन् ।
विद्यालयले मेरिटको आधारमा प्रकाशित गरेको नतिजा विश्व विद्यालय ऐन विपरित भए भएको भन्दै विद्यार्थीहरुले पुस ७ गतेदेखि विद्यालयको डिन, शैक्षिक र आर्थिक कार्यकक्षामा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
कृषि तथा वन क्याम्पसले गत पौष ६ गत प्रकाशन गरेको भर्ना सम्वन्धि सुचनामा विश्वविद्यालयका डीन बलराम भट्टले पदको दुरुपयोग गरेको विद्यार्थीहरुको आरेप छ ।
डीन भट्टले आफ्नो ईन्स्टिच्युटमा अध्ययन गरेका विद्यार्थीहरुको पक्षमा एकलौटी भर्ना गर्ने निर्णय सहितको सूचना निकालेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
विश्वविद्यालयको पठनपाठन २७ दिनदेखि बन्द रहेको छ भने, विद्यार्थीहरुले डीनको कार्यकक्षमा ताला लगाईदिएका छन् ।
अनेरास्ववियू विश्व विद्यालय कमिटीले मेरिट (योग्यता क्रम) को आधारमा प्रकाशन नतिजा गलत भएको जनाएको छ ।
प्रवेश परीक्षामा पास भएका ४२ देखि १ सय ८८ क्रम संख्याका विद्यार्थीहरु भर्नाबाट बञ्चित रहेको अनेरास्ववियु विश्व विद्यालय कमिटीका कार्यबाहक अध्यक्ष अंकित खतिवडाको भनाई छ ।
खतिवडाका अनुसार १ देखि ४१ र १ सय ८९ देखि ६ सय २५ क्रम संख्याका विद्यार्थीहरु मेरिटमा परेका थिए । मेरिटमा परेका विद्यार्थीहरुमात्रै विद्यालयमा भर्ना हुन पाउने व्यवस्था रहेको छ ।
विद्यार्थीहरुले इन्ट्रान्स पास गरेका मध्ये पहिलो ४१ जनाले हेटौंडा र २१ जनाले उदयपुरको कटारी गरी जम्मा ६२ जनाले योग्यताक्रम (मेरिट) को आधारमा निशुल्क अध्ययन गर्न पाउने व्यवस्था रहेको छ ।
तर डीन भट्टले योग्यतालाई लत्याउदै योग्यताक्रमको ४२ औं देखि योग्यता पुगेकालाई पञ्छाएर ६ सय २५ औं योग्यताक्रमका विद्यार्थीहरुलाई निशुल्क अध्ययनको व्यवस्था मिलाएको आरोप लगाएका छन् ।
विश्वविद्यालयमा वीएस्सी फरेष्ट्रीमा ८६ जनाको कोटा रहेको छ भने सशुल्क अध्ययनका लागि प्रति विद्यार्थीले ३ लाख ५० हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने हुन्छ । आन्दोलनका कारण कोर्ष पूरानै नहुने सम्भावना देखिएको छ ।