मकवानपुरको दामनमा भएको घटनामा भारतीय मन्त्रीद्वारा दुःख व्यक्त, दूतावासमार्फत् शव बुझाउने तयारी
मकवानपुरको दामनको रिसोर्टमा आफ्ना ८ नागरिकको मृत्यु भएको घटनाबारे भारतीय विदेश मन्त्री एस जयशंकरले दुःख व्यक्त गरेका छन्।
नेपालमा ८ भारतीय पर्यटको मृत्यु भएको समाचारले मर्माहत भएको छु । काठमाडौंस्थित हाम्रो दूतावासले घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ । दूतावासका अधिकारीहरू अस्पतालमा खटिएका छन् र आवश्यक सहयोग गरिरहेका छन्। मंगलबार ट्वीटमा जयशंकरले लेखेका छन् । नेपालले भने दूतावासमार्फत् मृतकको शव आफन्तलाई बुझाउने तयारी गरेको छ ।
मृतक आठै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
शवको पोस्टमार्टम गर्न अझै बाँकी रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जनाएको छ ।
पोस्टमार्टम सकिएपछि कानुनी रूपमा दूतावासमार्फत शव आफन्तको जिम्मा लगाउने उनले बताए ।
सोमबार थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए। उनीहरूलाई हेलिकप्टरमा काठमाडौं ल्याइएकोमा मृत्यु भएको थियो।