हेटौंडामा ट्राफिकको दुईअर्थी बोर्डले चालकलाई नै झुक्याउँदै
हेटौंडा उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले राखेको संकेतमूलक बोर्डले सवारी चालकलाई अलमलमा पारेको भेटिएको छ । हेटौंडा«४ स्थित पारिजात पथबाट स्कूल रोड तर्फ जाने मोडमा राखिएको बोर्डले चालकहरुलाई दैनिक झुक्याईरहेको छ । सो मोडमा राखेको दूई वटा बोर्डमा एउटाले स्कूल रोड तर्फ कुनैपनि सवारी जानै निषेध गरेको छ भने, अर्कोले दूई पांग्रे सवारीलाई भने जान अनुमति दिएको देखिन्छ ।
स्कूल रोड तर्फ मोडिने सो मोडमा पोलको बोर्डले सबै सवारीलाई निषेध गरेको छ भने, सडकको बीचमा राखिएको बोर्डले भने दुई पांग्रे बाहेक भन्ने शब्द थपिएको छ । बोर्डको संकेत अनुसार सबै सवारी निषेध हो वा दुई पांग्रे बाहेक निषेध भन्नेमा अलमल देखिएको छ ।
यसरी एकै स्थानमा एउटै गन्तब्य तर्फ जाने स्थानमा दुई अर्थी बोर्डले चालकहरुलाई दैनिक झुक्याएको चालकहरुले गुनासो समेत गर्न थालेका छन् । तर, सो स्थानमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सोही बोर्डको संकेत पालना गराउन ट्राफिक प्रहरी परिचालन पनि गरेको छ ।