अग्नि सापकोटा विरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, तत्काल पक्राउ गर्न माग

नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता भएको छ ।
‘कर्तव्य ज्यान’ मुद्दाको अभियोग लागेका व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै प्रक्रिया तत्काल स्थगित गर्नका लागि अन्तरिम आदेशको मागसहित अदालतमा मुद्दा दर्ता गरिएको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध रिट दायर गर्दै तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरिएको हो ।
त्रिपाठीले दायर गरेको रिटमा सापकोटालाई सभामुख निर्वाचित नगर्न र तत्काल गिरफ्तार गर्नुपर्ने जिकिर गरिएको छ । सापकोटा सभामुखका एक्ला उमेदवार हुन् ।
फौजदरी अभियोगमा मुछिएको व्यक्ति सभामुखको उमेदवार रहेको भन्दै सभामुख निर्वाचनको सबै प्रक्रिया रोक्ने आदेश पनि माग गरिएको छ ।
लामा हत्याको मुद्दा संवेशदनशील भन्दै यसको अनुसन्धानका लागि प्रहरीसहितको विशेष टोली गठन गर्न पनि माग गरिएको छ ।
विगतमा सापकोटाविरुद्ध काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको थियो । १७ वैशाख २०६२ मा ‘माओवादी कार्यकताको अपहरणमा परेको भनिएका लामाको २ महिनापछि काभ्रेकै बुढाखानीको चारकिल्ला भन्ने ठाउँमा शव फेला परेको थियो ।
मृतक लामाकी श्रीमती पूर्णमाया लामाले ७ मंसिर २०६९ मा सापकोटासहितका माओवादी नेता कार्यकर्ताविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेकी थिइन् ।