हजारको नोटमा दुईवटा हात्ती !
राष्ट्र बैंकको डिजाइन कमिटीले हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राख्ने निर्णय गरेको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय गरेको हो ।
अहिले हजारको नोटमा एउटा हात्तीको तस्बिर देखिन्छ । अब त्यहि ठाउँमा नेपाली हात्तीको तस्बिर राखिने निर्णय भएको हो, नोट डिजाइनर सुन्दर श्रेष्ठले हजारको नोट देखाउँदै भने ।
जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट अब ३ देखि ४ महिनाभित्रमा छापिएर आउँछ, प्रवक्ता भट्टले भने, नोटमा नेपालमै पाउने हात्तीको चित्र राख्नुपर्छ भनेर नोट डिजाइन कमिटीले पास गरेपछि त्यो अनुसार राष्ट्रिय प्रकृति संरक्षण विभाग, वन्यजन्तु तथा संरक्षण विभागले उपलब्ध गराएको चित्रलाई आधार बनाएर नोटको डिजाइन भएको हो ।
नोट छपाईमा पनि गइसकेको छ । प्रचलनमा रहेको हजारको नोटमा समावेश हात्ती कुन मुलुको भनेर अझै यकिन भइसकेको छैन ।कतिले उक्त हात्ती अफ्रिकी मुलको जस्तो देखिने आंकलन गरेका छन् । ६/७ वर्षदेखि नोटमा जनावरहरु फेरिएका छन् ।
पाँचको नोटमा दुईवटा याक समावेश थिए । अहिले एउटा मात्र याक छ । पाँच सयको नोटमा दुईवटा बाघ थिए, अहिले चितवन राष्ट्रिय निकुञ्जको एउटामात्र बाघ राखिएको छ ।
सयको नोटमा पहिले एउटा गैंडाको तस्बिर भएकोमा अहिले यसमा माउ र बच्चा गैंडाको फोटो छ। अब हजारको नोटमा पनि जुम्ल्याह हात्ती देखिने भएको हो ।