भोलि राष्ट्रपति हेटौंडा आउने, प्रजातान्त्रिक पार्कको अनाबरण गर्ने
मकवानपुरको हेटौंडामा अवस्थित शहीद स्मारकमा नव निर्मित प्रजातान्त्रिक पार्कको राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनावरण हुने भएको छ । राष्ट्रपति भण्डारीले पार्कमा रहेका विश्वेश्वरप्रसाद कोईराला, गणेशमान सिंह श्रेष्ठ, पुष्पलाल श्रेष्ठ र मनमोहन भट्टराईको पूर्ण कदको शालिकको अनावरण गर्ने कार्यक्रम रहेको छ ।
शहीद स्मारक विकास समितिले आज गरेको पत्रकार सम्मेलनमा राष्ट्रपति भण्डारी भोलि १४ गते मङ्गलबार अपरान्ह हेटौंडा आईपुग्ने जनाएको छ । पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष रामेश्वर रानाले गत माघ १० गतेदेखि १६ गतेसम्म गरिएको शहीद सप्ताह कार्यक्रम अन्र्तगत राष्ट्रपति शहीद स्मारक आउने तय भएको जनाएका छन् ।
पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलालले सबै सञ्चारकर्मीहरुको साथ समर्थनका लागि आग्रह गरेका थिए । भोलिको कार्यक्रममा शहीद स्मारक रजत जयन्ती स्तम्भ अनावरण, मदन भण्डारीको शालिकमा माल्यार्पण सहित स्मारकमा राखिएको विभिन्न कलाकृतिका कलाकारहरुलाई सम्मान सहित विविध कार्यक्रमहरु गरिने स्मारक विकास समितिका प्रचारप्रसार संयोजक नवीन सिग्देलले जानकारी दिएका छन् ।