नेपाल गुठीका हजारौं रोपनी जग्गा अतिक्रमण, हाकिम अख्तियारको फन्दामा

हेटौडा न्युज
१४ माघ २०७६, मंगलवार १८:५७
;

नेपालमा सबैभन्दा बढी सरकारी जग्गा हिनामिना गुठी संस्थानबाटै भएका छन् । गुठी संस्थानमा कार्यरत अहिलेसम्मका सबै प्रशासक, सहप्रशासक र उपप्रशासकहरुको सम्पत्ति छानबिन गरी कठघरामा उभ्याएमा गुठीका जग्गा हिनामिना गर्नेहरुको नालीबेली पत्ता लाग्नेछ । २०२१ को नापनक्सा भिडाएर गुठीका जग्गा कति थिए, त्यसको लगत निकाली एक-एकलाई कानुनी कठघरामा उभ्याउन ढिला भइसकेको छ ।

पछिल्लो पटक २०७६ पुस १ मा गुठी संस्थानका प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई गुठीको जग्गा गुठी नै कायम गर्नेगरी घुस लिंदालिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ ग¥यो । काठमाडौं महानगरपालिका १ स्थित नन्दीकेशर गुठीको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरु अहिले पनि अनुसन्धानकै क्रममा अख्तियारको हिरासतमा छन् ।

पूर्ववर्ती शेरबहादुर देउवा सरकारका भूमिसुधार मन्त्री गोपाल दहितले चौधरीलाई प्रशासक नियुक्ति गरेका थिए । सुशील कोइराला सरकारका पालामा प्रशासक नियुक्त भएका चौधरी त्यसपछि देउवा सरकारका मन्त्री दहितलाई प्रभावमा पारेर पुनर्नियुक्ति भएका थिए । केपी ओली नेतृत्वको सरकार बनेपछि उनीसहित देउवा सरकारले गरेका सबै नियुक्ति बदर गरिए । तर सर्वोच्च अदालतमा रिट दायर गरी उनी अन्तरिम आदेश लिएर पुनर्बहाली भएका थिए । ५८ बर्ष उमेरहदका कारण नेपाल सरकारको प्रथम श्रेणीको जागिरबाट अवकाश पाइसके पनि उनमा करोडौं होइन, अरब कमाउने भूत सवार हुँदा उनी अख्तियारको फन्दामा परेका छन् । दोहोरिएर प्रशासक भएपछि उनी कमाउधन्दामा यति लिप्त भए कि अख्तियार आफ्ना पछाडि लागेको पनि बिर्सिए । यसअघि नापी गोश्वारादेखि विभिन्न कार्यालयको प्रमुख हुँदा पनि उनी अख्तियारको निशानामा परेका थिए । तत्कालीन ६ नम्बर नापी गोश्वाराको प्रमुख हुँदा उनले काठमाडौंका धापासीमा मात्रै सयौं रोपनी सरकारी जग्गा ब्यक्तिका नाममा नापी गरी अकूत घुस संकलन गरेका थिए । भक्तपुरका कतिपय जग्गाधनीका २ आना जग्गा हुनेलाई ४ आना, ४ आना हुनेलाई ८ आनामा अद्यावधिक(हालसाविक) गरेको आरोप पनि उनीमाथि लागेको थियो । गुठी संस्थानमा आएपछि पनि उनको ध्यान जसरी हुन्छ कमाउधन्दामै केन्द्रित भयो । जसका कारण उनी अख्तियारको फन्दामा परे ।

गुठीका हाकिम फरार

प्रशासक चौधरी र उपप्रशासक पाण्डे पक्राउ परिसकेका छन् । उनीहरुका बारेमा अख्तियारले अनुसन्धान गरिरहेको छ । गुठी संस्थानमा ३० बर्षसम्म कार्यरत अर्का पूर्व उपप्रशासक दीपकबहादुर पाण्डेका बिरुद्ध पनि अख्तियारले छानबिन गरिरहेको छ । उनले भक्तपुर, पोखरादेखि जनकपुरको जानकी मन्दिरको जग्गा र पसल कवल भाडामा अनियमितता गरेकोबारेमा अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारमा हाजिर हुन पटक पटक पत्र पठाउँदा पनि नआएपछि उनीबिरुद्ध २ पटक सार्वजनिक सूचना जारी गरिएको छ ।

उनीविरुद्ध अख्तियारमा धेरै वटा उजुरी परे पनि पोखराको जग्गा हिनामिना र भक्तपुरको गुठीको घर भाडामा गरेको अनियमिततामा उनलाई विभागीय कारबाही गर्न दिएको आदेश संस्थानले कार्यान्वयन गरेन । उनले धम्की दिएर अख्तियारले दिएको निर्देशन कार्यान्वयन नै हुन दिएनन् । उनी गतबर्ष अवकाश भए । अवकाशपछि पनि उनीबिरुद्ध अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारले छानबिन गरेपछि पक्राउ गर्ने बुझेर उनी अष्ट्रेलिया फरार भएका छन् । र, गुठीको सम्पत्ति गैरकानुनी रुपमा ब्यक्तिका नाममा गर्नेदेखि धेरै काण्डमा अनियमितता गरी आर्जित सम्पत्तिको अधिकांश हिस्सा धन पनि उनले अष्ट्रेलिया लगिसकेका छन् ।

दीपकबहादुर पाण्डेविरुद्ध परेको उजुरीमा तत्कालीन संस्थान सञ्चालक समितिका सदस्य उमेश स्थापितको संयोजकत्वमा गठित चार सदस्यीय छानबिन समितिले उनले पदको दुरुपयोग गर्दै आर्थिक अनियमितता गरेको ठहर गर्दै आयोगसमक्ष प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन ७ बर्ष अघि नै बुझाएको थियो ।

संस्थानले ०६८ फागुनमा उप–प्रशासक पाण्डेविरुद्ध छानबिन गरिएको प्रतिवेदन अनुसार कारबाही गर्न लेखी पठाएको थियो । छानबिन समितिले संस्थानलाई ठूलो हानी–नोक्सानी हुने विशेष प्रकृतिका कार्यहरू गरेको, कानुनविपरीत विभिन्न व्यक्ति र संस्थासँगको मिलेमतोमा पटक–पटक गैरकानुनी काम गरेकाले कारबाही गर्न सिफारिस गरेको थियो । फिल्डबुकमा मोहीको नाम उल्लेख नभई खाली रहेको ललितपुरस्थित रातो मच्छेन्द्रनाथलाई आरती गर्ने घर गुठी तैनाथीलाई ललितपुर कार्यालयका तत्कालीन कार्यालय प्रमुख पाण्डेले गैरकानुनी कार्य गरेको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘वाग्मती सिंहसत्तल गुठीको चपली भद्रकालीस्थित २२४ गल्फुटार नगर विकास आयोजनाभित्र परी अधिग्रहण परेको आठ रोपनीभन्दा बढी जग्गाको मुआब्जा रकम हालसम्म पनि गुठी संस्थानले प्राप्त गर्न सकेको छैन ।’ अधिग्रहणमा परेको जग्गा रैतानमा परिणत गर्ने कार्य तत्कालीन कार्यवाहक प्रमुख पाण्डेले गरेको र पाण्डेलाई तत्कालीन प्रशासकले सफाइ दिने कार्य गरेको पनि प्रतिवेदनमा जनाइएको छ । भक्तपुर नगरपालिका वडा नं. ३ को कित्ता नं। ८४ को घर बहाल रकम सम्बन्धमा उपप्रशासक पाण्डेलाई कारबाही गर्न भनिएको भए पनि त्यसमा वास्ता नगरिएको जनाइएको छ ।

समितिको प्रतिवेदनमा सम्झौता अनुसार बहाल असुल नगरिएको, भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा कारबाही गर्न लेखी पठाइएको भए पनि सो अनुसार भएको छैन ।

गुठी संस्थानका पोखरा, महाँकाल, भक्तपुरका पचासौं रोपनी जग्गा गैरकानुनी रुपमा मोही खडा गरी हिनामिना गरेका थिए पाण्डेले । पाण्डेले संस्थानका पचासौं रोपनी गुठी तैनाथी जग्गा गैरकानुनी रूपमा मोही कायम गर्दै हिनामिना गरेका थिए ।

पाण्डेले भक्तपुर चित्तपोल गाविस वडा नम्बर १९(ख) कित्ता नम्बर ३०६ को क्षेत्रफल १ रोपनी ४ आना गुठी तैनाथी खान्गी जग्गा मोही कायम गराई आफ्नै फाँटवाला कर्मचारीको बुहारीको नाममा लिखत पास गराई उनले त्यसैमध्येबाट आफ्नै दिदी नारायणदेवी कार्कीको नाममा पास गरिएको उल्लेख छ ।

पोखराको भैरव गुठीको तैनाथी जग्गालाई रैतानी गर्ने निर्णय बारे अख्तियारले तत्कालीन अवस्थामा निर्णय बदर गर्नु, कानुनी सल्लाहकारलाई हटाउनु, सञ्चालक समितिलाई समेत गुमराहमा राखेर निर्णय गराउने उपप्रसाशक पाण्डेलाई विभागिय कारबाही गर्नु भनेको थियो । यसको पक्ष विपक्षमा समेत अदालती प्रक्रियामा जाँदा समेत उपप्रशासक पाण्डेले अनियमितता गरेको जनाइएको थियो ।

पोखराको नारायणस्थान मन्दिरको अर्बौं रुपैयाँ पर्ने नारायण गुठीको नाममा रहेको जग्गा व्यक्तिको नाममा सार्ने काम पनि पाण्डेले नै गरेका थिए । पाण्डेकै सहयोगमा मन्दिरका पूजारी पुष्पराज लामिछानेले गुठीको नाममा रहेको मन्दिरको जग्गा आफ्नो नाममा नामसारी गरेका हुन् ।

२०५९ साल मिनाकुमारी गुरुङको नाममा जग्गा पास गराएका लामिछानेले हाल आएर आफ्नै नाममा जग्गा नामसारी गराएका थिए । नारायणस्थान मन्दिर १९४३ सालमा फिरन्ता ब्रह्माचारी गणेश गिरीले स्थापना गरी नारायण गुठी सञ्चालनमा ल्याएका थिए । त्यस समयमा पोखरा ३ नदीपुर निवासी देवीदत्त पाध्या पराजुली पूजारी थिए । पराजुलीको शेषपछि उनका २ छोराहरु रुद्रनाथ र टीकानिधिले पूजाआजा गर्दै आएको र उनीहरुको निधनपछि रुद्रनाथकी श्रीमती पवित्रा पराजुली र टिकानिधिकी श्रीमती गंगा पराजुलीले पूजारी राखेर पूजाआजाको व्यवस्थापन गर्दै आएका थिए । स्रोत : दृष्टि साप्ताहिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*