सुर्खेतमा आज पनि तनाव, प्रर्दशनमा उत्रिएका ८ जना पक्राउ, ११ वर्षीय विमल घाईते

हेटौडा न्युज
१६ माघ २०७६, बिहीबार १९:५७
;

टिपरको ठक्करबाट मङ्गलबार वीरेन्द्रनगरमा एक युवकको ज्यान गएपछि उत्पन्न तनाव उग्र बन्दै गएको छ । मृतकका आफन्त र स्थानीयवासीले आज बिहिबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । प्रर्दशनकारीहरुले सवारी साधनहरु समेत चल्न दिएको छैन ।

टिपरधनी र चालकलाई जन्मकैदको सजाय हुनुपर्ने, आन्दोलनमा घाइते भएकाको उपचारका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित मृतकका आफन्त पुनः सडकमा उत्रिएका हुन् ।

वीरेन्द्रचोक, एरिचोकलगायतका स्थानमा तनाव बढेपछि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

वीरेन्द्रचोकमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको लाट्ठी लागेर दैलेखका ११ वर्षीय विमल नेपाली घाइते भएका छन् ।

उनको दाँत झर्नुका साथै ओठमा चोट लागेको छ । प्रहरीले सोही स्थानबाट आठ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घटनाको तेस्रो दिनसम्म पनि सुर्खेतको अवस्था सामान्य हुन नसकेपछि व्यवसायीले प्रहरी प्रशासनप्रति आक्रोश पोख्नुका साथै पीडित र पीडक पक्षबीच वार्ताको सहजीकरण गर्नुको साटो प्रहरी–प्रशासनले अनावश्यक धरपकड गरेको आरोप लगाएका छन् । 

सहमति हुन नसक्दा शव परीक्षण हुनसकेको छैन । शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ । टिपरधनी सम्पर्कमा आएकाले अहिले दुवै पक्षबीच वार्ता भइरहेको  जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जनाएको छ ।

चालक वीरेन्द्रनगर–१० का राजकुमार बोहरालाई भने प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइसकेको छ । मङ्गलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतम चोकमा भे१ख २२४२ नंको टिपरको ठक्करबाट कालीकोट महाबै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*