तनाबग्रस्त बनेको सुर्खेतको टिपर काण्डमा ५ बुँदे सहमति, आन्दोलन फिर्ता
सुर्खेतमा मंगलबार टिप्परले किचेर २१ वर्षीय केशर सिंंहको ज्यान गएपछि विरोधमा तनावग्रस्त बनेको वीरेन्द्रनगर सामान्य बन्न थालेको छ ।
पीडित पक्ष र प्रशासनबीच पाँच बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन्। तीन दिनको प्रयासपछि बिहीबार पीडितपक्ष र प्रशासनबीच सहमति भएसंँगै उनीहरुले सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिएका हुन् ।
पीडित पक्षलाई कानून बामोजिम दिइने क्षतिपूर्तिको लागि तत्काल प्रक्रिया अघि बढाउने, पीडित पक्षलाई थप राहतका र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको लागि कर्णाली प्रदेश सरकारसँग अनुरोध गर्ने सहमति समेत भएको छ ।
प्रहरी नियन्त्रणमा रहेका टिप्पर चालक राजकुमार बोहोराविरुद्ध कारबाहीका लागि पीडित पक्षले किटानी जाहेरी दिइ प्रकृया अघि बढाउने र घटनालाई लिएर भएका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।
पीडित पक्षले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखिएको शव पोष्टमार्टम गरि अन्त्येष्टि गर्ने सहमति गरेका छन् ।