परिवारै मिलेर महिलाको हत्या, श्रीमान, नन्द र सासू-ससुरा पक्राउ
मोवाइलको विषयमा विवाद हुँदा धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको औरही गाउँपालिका-२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्यले हत्या गरेको प्रहरीले जनाएको छ ।
चिन्तामणि र उनकी नन्द पुनिता पासवानबीच मोवाइलको विषयमा विवाद हुँदा झगडा भएको थियो । सोही विषयमा श्रीमान अनिलकुमार, नन्द पुनिता, सासू-ससुरा मिलेर घाँटी थिचेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घाँटी थिचेर हत्या गरी अपराध लुकाउन मृतक झुण्डिएको हो भन्दै उनीहरुले हल्ला फैलाएर अटोरिक्सामा राखी प्रादेशिक अस्पताल पुर्याएको पाइएको डीएसपी रामेश्वर कार्कीले जनाएको छ ।
उपचार गराउन आउँदा घटना शंकास्पद देखिएपछि उनका परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मृतक चिन्तामणिका श्रीमान ३० वर्षीय अनिलकुमार पासवान, ससुरा ५५ वर्षीय राधाकृष्ण पासवान, ४५ वर्षीया सासू कुमला पासवान र २० वर्षीया नन्द पुनिता पासवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चारै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।