अजिता भुजेलको हत्याको आरोपमा हेटौंडाका ५ जना पक्राउ
हेटौंडा ११ की अजिता भुजेलको हत्या आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा–११ बस्ने २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौंडा–१४ घर भएका २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौंडा–९ बस्ने १८ वर्षीय भापु भन्ने सिमोन परियार र हेटौंडा–४ का घनटाउके भनिने सुशिल थापा मगरलाई भुजेलको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
हेटौंडा–११ घर भएकी तेस्रो लिङ्गी भुजेलको माघ ४ गते मध्यरात साढे १ बजे थानाभर्याङमा हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सहमतिमा यौन सम्पर्कपछि पैसा दिने क्रममा विवाद भएको र अजिताको हत्या भएको हालसम्मको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सुशील सिंह राठौरले जनाएको छ ।
पाँच जना मिलेर भुजेलको हत्या गरेपछि शवलाई हेटौंडा–५ क्याम्पाडाँडामा लगेर फालेको प्रहरीको अनुसन्धान मार्फत खुल्न आएको जनाइएको छ । आज मंगलबार पत्रकार सम्मेलन गर्दै मकवानपुर प्रहरीले अजिता हत्यामा संलग्नहरुलाई सार्वजनिक गरिएको छ ।