वडाध्यक्षको हत्या अनुसन्धानमा ढिला भएको भन्दै आन्दोलन
वडाध्यक्षको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै अछाममा आन्दोलन सुरु भएको छ । अछामको पन्चदेवल विनायक नगरपालिका-२ का अध्यक्ष पदमबहादुर धामीको शव मङ्गलबार गैरीगाउँको गोठमा भेटिएको थियो ।
धामीको हत्या भएको दाबी गर्दै उनका आफन्तहरूले बुधबार बिहानैदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन् । विनायक बजार पनि बन्द छ । आफन्त तथा स्थानीयवासीले नगर क्षेत्रका सबै शैक्षिक संस्था र सरकारी कार्यालयहरु समेत बन्द गराएका छन् ।
पन्चदेवल बजारमा बिहानैदेखि टायर बालिएको छ । सवारी आवतजावत् बन्द भएपछि यात्रुहरू अलपत्र परेका छन् ।
मृतक वडाध्यक्षका भतिजा दीपेन्द्र धामीले भने अनुसन्धानमा प्रहरीले ढिलाइ र लापरबाही गरेको भन्दै आन्दोलन सुरु गरेको आफन्तहरूले बताएका छन् । ‘चित्त बुझ्दो अनुसन्धान नहुँदा हामी आन्दोलित भएका हौं,’ ।
उनले प्रहरीकै लापरबाहीका कारण घटनाका संलग्नहरू उम्किन सक्ने आरोप लगाए । ‘३ दिन पहिले हत्या गरिएको शवमा अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको टोलीले आज मात्रै पुगेको छ,’ उनले भने, ‘हिजोसम्म पनि त्यो टोली आएको भए सत्य तथ्य बाहिर आउन सक्ने थियो ।’
प्रहरीले भने अनुसन्धान भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले तालीमप्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेको बताएका छन् ।