ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियारले मुद्दा दायर गर्ने
ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । बुधबार प्रमुख आयुक्त नविन घिमिरेसहित आयुक्तद्वय डा.गणेशराज जोशी र सावित्री थापा गुरुङ सम्मिलित आयोगको बैठकले मुद्दा दायर गर्ने निर्णय गरेको हो ।
निर्णयलगत्तै बुधबार नै मुद्दा दर्ता गर्न अख्तियारको टोली विशेष अदालत पुगेका छन् । अख्तियार उच्च स्रोतका अनुसारतत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र उनी पछिका चन्द्रदेव जोशीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको हो ।
त्यसैगरी पूर्व सचिवहरु दीप बस्न्यात, छवीराज पन्त, दिनेशहरि अधिकारीमाथि पनि मुद्दा दायर गरीने भएको छ। बस्न्यात अख्तियारको आयुक्त हुँदै प्रमुख आयुक्त भइसकेका व्यक्ति हुन् भने पन्त चुनावी सरकारमा मन्त्री थिए ।
भ्रष्टाचार आरोपको सूचीमा २२ रोपनी जग्गा ‘घुस’ लिएका पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, गृह मन्त्रालयका पूर्व सह–सचिव गेहनाथ भण्डारी र उनकी पत्नी भुवनकुमारी चापगाई अनि सासु सोदाकुमारी चापागाई समेत छन् ।
हाल चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतममाथि पनि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको छ । उनी २०६६ सालमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउँदा गलत राय दिएको आरोपमा परेका हुन् ।
ललिता निवासको २ सय ९९ रोपनी जग्गा पञ्चायतकालीन सरकारले अधिग्रहण गरेको थियो । २०४९, ६२, ६७ र ६९ सालमा गरी चारपटक उक्त जग्गा अतिक्रमण भएको व्यक्तिको नाममा दर्ता भएको छ । गैरकानूनी रुपमा व्यक्तिको नाममा दर्ता गरिएको जग्गा करिब १ सय ४० रोपनीभन्दा बढी छ ।