छाउगोठ भत्काउँदा हवल्दार माथि आक्रमण: सम्झाउँदै थिएँ, पछाडिबाट भैंसी बाँध्ने किलाले हानिन्

अछाममा छाउगोठ भत्काउन लाग्दा गोठ धनी महिलाले एक जना प्रहरी हवल्दारलाई नै आक्रमण गरेकी छन् । अछाम प्रहरी प्रमुख दीपक भारतीका अनुसार प्रहवल्दार धनबहादुर कैलाललाई गोठ भत्काएको आरोपमा भैंसी बाँध्ने किलाले प्रहार गरिएको हो ।
वडाअध्यक्ष, महिलाहरू र अन्य सदस्यसहित तीन जना प्रहरी छाउगोठ भत्काउन पुगेका थिए। यही क्रममा गत शनिबार अछामको बन्नीगढी जयगढ गाउँपालिकाको लामागाउँमा पनि छाउगोठ भत्काउने टोली पुगेको थियो ।
पीडित हवल्दार कैलालका अनुसार गोठ भत्काउनुअघि केही मिनेट उनी आफैंले ती महिलालाई छाउगोठ अभियानबारे सम्झाइ-बुझाइ गरेका थिए।
'गोठ भत्काउने कुरामा ती महिला हामीसँग विवाद गरिरहेकी थिइन्,' हवल्दार कैलालले भने, 'सुरूमा मैले नै उनलाई सम्झाइरहेको थिएँ। तर जब फोन आएर म मोबाइलमा व्यस्त भएँ, पछाडिबाट ती महिलाले भैंसी बाँध्ने किलाले हानेर आक्रमण गरिन्।'
सरकारले छाउपडी उन्मूलन कानुन कार्यान्वयनको दबाब दिएसँगै पश्चिम नेपालमा धमाधम छाउगोठ भत्काइँदैछ । यो काममा प्रहरीको मुख्य सक्रियता छ ।
छाउगोठ भत्काउँदा देवता लाग्ने भनेर ती महिलाले प्रहरीमाथि प्रहार गरेकी थिइन् । हवल्दारलाई कुट्न महिलालाई जिल्ला प्रहरीले नियन्त्रणमा लिइसकेको र सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको पनि प्रहरी प्रमुख भारतीले बताएका छन् ।
उक्त दिन तीन प्रहरी, वडा अध्यक्ष, आमा समूहका ४५ जना महिला र युवा क्लबका सदस्य घुम्दै छाउगोठ भत्काउँदै हिँडेका थिए। प्रमुख भारतीका अनुसार छाउगोठ भत्काउने अभियान पनि स्थानीयसँगको सल्लाह र सहमतिमै सुरू गरिएको थियो।