तपस्वी बमजन सिन्धुलीको आश्रमबाट गायब, चार गुरू नियन्त्रणमा

हेटौडा न्युज
२४ माघ २०७६, शुक्रबार १९:०५
;

तपस्वी रामबहादुर बमजन सिन्धुली आश्रमबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । हत्या–हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका बमजनलाई पक्रन बमजनको आश्रममा पुगेको प्रहरी टोलीले खाली हात फर्किएको छ । 

सर्लाहीका एसपी विश्वमणि पोखरेलका अनुसार बिहीबार रातिसम्म बमजन आश्रममै रहेको सूचनाका आधारमा प्रहरी उनलाई पक्रन शुक्रबार बिहानै आश्रम पुगे पनि उनी त्यहाँ भेटीएनन् । 

 सर्लाही जिल्ला अदालतको अनुमति लिएर शुक्रबार बिहान बमजन आश्रम पुग्दा उनको मूलघरमा ताला लागेको प्रहरीले जनाएको छ ।

उनी कतै भागेको वा आफैं गायब भएको हाम्रो अनुमान छ, सर्लाहीका एसपी पोखरेलले भने, खोजीकार्य जारी छ, आवश्यक परे हामीले कुकुरसमेत परिचालन गरेर उनलाई खोज्छौं। आश्रममा रहेका ४ जना गुरूहरूलाई नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ । 
बमजन एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ।

बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्।  बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्।

बमजनले आश्रममा बस्ने नाबालक आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप छ। गंगामायाले डेढ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। अहिले गंगामाया काठमाडौंस्थित बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा छन्।

अनुसन्धानले गति नलिएपछि दुई महिनाअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नै मातहतमा विशेष टोली परिचालन गरेर अनुसन्धानलाई तीव्रता दिएका थिए।

बमजनमाथि आश्रमबाट अनुयायी बेपत्ता पारेको उजुरी परेको छ । उनको आश्रममा गएका ४ जनाको अभिभावकले आफ्ना सन्तान बेपत्ता भएको भनी प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले उनलाई खोजी गरे पनि अहिलेसम्म नभेटिएको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*