ललिता निवास जग्गा खरिदमा सरकारले राजस्व छुट दिएको खुलासा

ललिता निवासको जग्गा खरिद गर्दा सरकारले नै राजस्व छुट दिएको दाबी गरेको छ । गैरआवासीय नेपाली संघले बालुवाटारस्थित ललिता निवासको जग्गा खरिद गर्दा सरकारले आफूहरूलाई ५० लाख ८८ हजार रुपैयाँ बराबरको राजस्व मिनाहा गरेको संघले जनाएको छ ।
संघका अनुसार स्व. सुशील कोइराला प्रधानमन्त्री हुँदा संघले जगगा खरिद प्रकृयामा राजस्व छुट पाएको थियो । तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाको प्रस्तावमा मन्त्रिपरिषद बैठकले संघलाई राजस्वमा छुट दिने निर्णय गरेको थियो ।
संघले २०७२ जेठ १४ गते मात्रै जग्गा आफ्नो नामसारी गरेको देखिन्छ । यसैलाई आधार मान्दा ललिता निवासको जग्गा संघको नाममा आउनु भन्दा पहिला नै सरकारले राजस्व नलिने निर्णय गरेको हो ।
ललिता निवासको तीन रोपनी जग्गा संघले १२ करोड ७२ लाख रुपैयाँमा २०७२ बैशाख ३१ गते किनेको थियो ।
गैरआवासी नेपाली संघलाई समेत प्रतिवादी बनाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघमा १७५ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
संघलाई अख्तियारले जग्गा फिर्ता प्रयोजनका लागि विपक्षी बनाएको हो । साविक हाँडीगाउँ मौजा ४५६ नम्बरको लगत भिड्ने सरकारी जग्गा आफ्नो नाममा राखेको अभियोग छ ।