कुख्यात ‘मिटरब्याजी’ यादवलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

हेटौडा न्युज
२९ माघ २०७६, बुधबार १८:१०
;

कुख्यात ‘मिटरब्याजी’ साहु रामबाबु राय यादवलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत सर्लाहीले आदेश दिएको छ । मंगलबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले आरोपी यादवलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  

सर्लाहीका मिटरब्याजी यादवलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि स्थानीय पीडितहरुले आपत्ति जनाएका छन् । तर, यादवले धरौटी बापतको रकम जम्मा नगरेपछि कारागार चलान भएका छन् ।

जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलका अनुसार मंगलबार साँझ नै यादवलाई सुनसरीको झुम्का कारागार पठाइएको छ । यादवको सम्पत्ति छनविन गर्न सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा परेको छ । मुद्दापछि अदालतले यादवको सम्पूर्ण सम्पत्ति रोक्का गरेको छ । सम्पत्ति रोक्का भएका कारण धरौटी बापतको रकम बुझाउन नसकेको उनका भाइ लालबाबु राय यादवले बताएका छन् ।

यादवविरुद्ध २८ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् । पीडितले दिएका २८ उजुरीको आधारमा प्रहरीले २० करोड ४४ लाख रुपैयाँ बिगो दाबीसहित यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेको छ ।

यादवलाई प्रहरीले २३ पुसमा पक्राउ गरेको थियो। अर्का सुदखोर सञ्जय साह रौनियार भने अझै फरार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*