‘सक्किगोनी’का हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’: जसले बनाए क्रिकेट रंगशालाको योजना
कुमार कट्टेल (जिग्री) हास्यकलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)का सहोदर माहिला भाइ हुन् । अहिलेको चर्चित हास्य टेलिश्रृंखलाका ‘सक्किगोनी’का कलाकार कुमार चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिनरात खटिएका छन् ।
टेलिश्रृंखलाको जिम्मा अर्का सहयात्री अर्जुन घिमिरे (पाँडे)लाई लगाएर कुमार रंगशालाको सपनालाई छिट्टै पुरा गराउने दाजु धुर्मुसको अभियानमा लागिपरेका छन् ।
‘रंगशालाको काममा खटिँदा सिरियल सुटिङ पनि मिस गरेको छु, अर्जुनसँग फोन र भिडियो कलबाट नै स्कृप्टको बारेमा सल्लाह गर्छु,’ उनले भने, ‘रंगशाला निर्माणस्थलमा विहान ५ बजेदेखि राति अबेरसम्मै खटिन्छु ।’
रंगशाला भ्रमणका लागि आउने मान्छेहरुसँग भेटघाट गर्ने, विभिन्न योजनाहरू बनाउने, सहयोग संकलन बढाउन विभिन्न क्रियसनका कामहरु गर्ने, प्रचारप्रसार र प्रवद्र्धनका काममा कुमार बढी केन्द्रित हुन्छन् । धुर्मसको ध्यान नपुगेका, पुगे पनि नभ्याउने कामको मेसो उनी मिलाउँछन् । एक्लै हुँदा रंगशाला निर्माणको जिम्मा अरु कसैलाई लगाएर अन्यत्रै कतै हिँड्न सक्दैनन् धुर्मस् । तर, कुमार आउँदा उनैको भरमा पनि छाड्छन् । ‘रंगशाला निर्माणको पहलकदमी उठाएका धुर्मस भन्छन्, ‘भाइ कुमार हुँदा भारी आधा हलुंगो भएको महसुस हुन्छ ।’
कुमार क्रिकेट भनेपछि हुरुक्कै हुन्छन् । देशका लागि खेलाडीले धेरै दिए पनि सरकारले उनीहरुका लागि स्टेडियमसम्म दिन नसकेकोमा उनको चित्त दुःखाइ छ । यही दुःखाइको परिणाम स्वरुप देशकै नमुना परियोजनाका रूपमा गौतमबुद्ध क्रिकेट रंगशाला बनिरहेको बताउँछन्, कुमार ।
उनी भन्छन् ‘बनका काँडालाई तिखार्न नपरेजस्तै हुन् हाम्रा खेलाडी पनि । तर, खेलाडीहरुका लागि सरकारले गरेको काम सम्झिँदा साँच्चै लाजमर्दो छ ।’ सकारात्मक कामबाट नैतिक दबाव दिने उद्देश्यअनुसार रंगशाला निर्माणमा खटिएको उनी बताउँछन् ।
यसरी निस्कियो रंगशाला बनाउने आइडिया !
२०७४ साल चैत १ गते नेपालले एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता प्राप्त पायो । त्यसको चार दिनपछि स्वदेश फर्किदै गरेका नेपाली क्रिकेट खेलाडीहरुलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका फ्यानहरूको समूहले चर्कोचर्को स्वरमा नाराबाजी गर्यो, ‘टुँडिखेलमा खेलेर वर्ल्डकप जित्न सकिन्न’, ‘ओडिआई स्टाटस पाइयो, रंगशाला चाहियो’ ।
विमानस्थल पुग्न नसकेका कुमारले यसको लाइभ हेरिरहेका थिए । सुनिरहेका थिए नाराबाजी । क्रिकेट प्रेमीहरुले लगाएको नाराले उनको मन छोयो । तत्कालै उनले फेसबुकमा एउटा स्टाटस लेखे । ‘रंगशाला बनाउने अभियानको पहलकदमी लिन तयार छु, यदि अरू कसैले बनाउँछ भने तत्कालै २० हजार सहयोग गर्नेछु ।’
उनको त्यो स्टाटस भाइरल बन्यो । धेरै मानिसहरुले उनलाई रंगशाला बनाउन अघि बढ्न प्रेरणा मात्रै दिएनन् सहयोगको वचन पनि दिए । रंगशाला बनाउने कुरा उठाएका कुमारले भन्दैमा यो अभियान सुरु हुन सक्ने अवस्था त थिएन । ती दिन सम्झदै उनी भन्छन्, ‘म त एक कलाकार न हुँ, मलाई समाजले कसरी विश्वास गर्ला मेरो पारदर्शिता के रहन्छ, कसरी बनाउँछ भन्ने पनि हुन्छ ।’
त्यही बेला उनको दिमागमा एउटा अर्को आइडिया फुर्यो, धुर्मस–सुन्तली फाउण्डेशन मार्फत रंगशाला बनाउने । उनलाई लाग्यो यो संस्थाप्रति जनताको विश्वास पनि छ । फाउण्डेशनसँग काभ्रे र रौतहटलगायतका क्षेत्रमा ४/४ बस्तीहरु बनाएको अनुभव पनि छ । जनस्तरको विश्वास पनि उत्तिकै छ । त्यसपछि उनी दाजु धुर्मसलाई भेट्न पुगे र आफ्नो प्रस्ताव र योजना सुनाए ।
‘रंगशाला निर्माणमा दाइ लाग्नु र म लाग्नु भनेको एउटै हो, मैले नेतृत्व लिएको भए के हुन्थ्यो, थाहा थिएन, धुर्मसले जस्तो स्पीडमा काम गर्न सक्ने थिइनँ होला, विश्वास आर्जन गर्न गाह्रो हुन्थ्यो,’ कुमार भन्छन्, ‘धुर्मस दाइले नेतृत्व गरिदिनाले सजिलो भयो, मैले स्टाटस लेखेर दाजुलाई व्यक्तिगत दबाब नदिएको भए आज यो परियोजना नेपालमा बन्ने थिएन ।’
कुमारले रंगशाला निर्माणको सोच बनाउँदै गर्दा धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘नमुना नेपाल’को काम अघि बढाउने तयारीमा थिए । केही दाताले सहयोग पनि गरिसकेका थिए । भाइको कुरामा कन्भिस देखिएका उनले जनअनुमोदनका लागि फेसबुकमा एउटा स्टाटस लेखे, ‘रंगशाला कि नमुना नेपाल ?’ कमेन्ट गर्ने करिब ९९ प्रतिशतले भने, ‘रंगशाला’ । त्यसपछि नमुना नेपालको काम तत्कालका लागि स्थगित गरेर रंगशालाका लागि जग्गाको खोजी गर्न निस्किएको सिताराम बताउँछन् ।
अन्ततः कृषि तथा वनविज्ञान विश्वविद्यालयले आफ्नो नाममा रहेको २० विगाहा ६ कठ्ठा जग्गा भरतपुर महानगरपालिकाको संयोजनमा उपलब्ध गरायो । त्यसपछि रंगशाला निर्माणको काम अघि बढ्यो ।
‘अस्पताल र रंगशालालाई तुलना गर्नु गलत’
क्रिकेट रंगशाला निर्माणको काम सुरु भएपछि एकाथरी मान्छेहरुले भन्ने गरेका छन्, आजको आवश्यकता रंगशालाभन्दा अस्पताल बनाउनु हो । कलाकार कुमार भने क्रिकेट रंगशाला बनाउनु अस्पताल बनाउनुजस्तै महत्वपूर्ण भएको बताउँछन् । ‘हस्पिटल बनाउनु हुँदैन भन्ने खोजेको हैन, बनाउनै पर्दछ, बनिरहेका पनि छन्,’ कुमार भन्छन्, ‘देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने रंगशाला बनाउनै हुँदैन भन्ने पनि त हैन होला नि ।’
राज्यका विभिन्न प्राथमिकता भित्र हस्पिटल परेको तर रंगशाला नपरेको बुझाइ उनको छ । खेलाडीको मेहनत र प्रशिक्षकको अथक प्रयासले नेपालले एकदिवसयीय मान्यता पाए पनि खेल्ने ठाउँ सरकारले अझै दिन नसकेको गुनासो उनी गर्छन् । मुलपानी क्रिकेट मैदानलाई सुरुमा बनाउने इच्छा राखे पनि विभिन्न कारणले नबनाउने भएपछि नेपाल कीर्तिपुरस्थित त्रिवि मैदानमा मात्र भर पर्दै आएको छ । चितवनमा बन्ने अन्तर्राष्ट्रियस्तरको रंगशाला खेलाडीका लागि विधागत तालिमसहितको शिक्षालय हुनेछ ।
कुमार भन्छन्– यस्तै रंगशाला सातवटै प्रदेशमा बन्न सक्छ
मोफसलमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने कामको सुरुवात गर्न निकै मुस्किल थियो । अनुभवी प्राविधिकहरुको साथमा नेपाली मौलिकता झल्कने रंगशाला निर्माण गर्न खोज्नु आफैंमा चुनौतीपूर्ण थियो । तर, यो चरण पार गरेर अघि बढेको कुमार बताउ“छन् । अब सात वटै प्रदेशमा यस्तै खालको रंगशाला बन्नेमा उनी आशावादी छन् ।
कुमार कट्टेलको भनाइ जस्ताको तस्तै–
यसमा स्वदेश तथा विदेशमा बस्नुभएका तमाम नेपालीहरुको शुभेच्छा र प्रत्यक्ष सहयोग छ । अब यो रंगशाला त बन्छ । म ढुक्क छु । यो रंगशाला मात्रै बन्दै छैन नेपालीले विकास गर्न सक्छ भन्ने सन्देश दिन गएको छ । ऐतिहासिक काम गर्ने र सहभागीता जनाउने अवसर आएको छ । यसले एउटा बाटो देखाएको छ । भोलि देशका सातैवटा प्रदेशमा यस्तै रंगशालाहरु बन्नेछन् । यो रंगशालाकै कपि गरेर डिजाइन गर्न सकिनेछ । यसका अनुभव अन्य रंगशालाका लागि पाठशाला बन्ने छ । यो त माउ हो, बच्चा अब सातै प्रदेशमा जन्मिन्छन्, जन्मिनुपर्दछ ।
चितवनमा यो रंगशाला बन्दैछ, देशको मध्य भाग पनि हो । हामी झापाको मान्छे किन चितवन रोज्यौं त ? हामी स्वार्थी भएको भएको भए त झापामै बनाउने थियौं होला । त्यसैले चितवनमा रंगशाला बन्दैछ हामीले किन सहयोग गर्ने भन्ने सोच कसैले पनि राख्नु हुँदैन । यस्तो सोतियो भने अन्याय हुन्छ । देशप्रति धोका हुन्छ । जात, धर्म, भूगोलका आधार दृष्टिकोण र धारणा बनाउनु गलत हो । देश भनेको भूगोल, माटो, हावापानी मात्रै पनि हैन । प्रत्येक नेपाली जनताले यसमा सहयोग गर्नुपर्दछ । देशमा खेल पर्यटनको विकासमा यो महत्वपूर्ण कोशेढुंगा सावित हुन्छ ।
क्रिकेटका महारथी देशका खेलाडीहरु नेपाल आएर गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा खेल्दा हाम्रो उचाइ कहाँ पुग्ला । कल्पना गर्नुस् त एकपटक । यसको बहुआयामिक महत्व छ । हरेक तीन करोड नेपालीहरुको यो साझा धरोहर बन्नेछ । जनताले देशका लागि बनाउन लागेको राष्ट्रिय गौरवको परियोजना हुनेछ ।
शुभेच्छाले मात्रै, शुभकामनाले मात्रै रंगशाला बन्दैन । आफूले सकेको आर्थिक सहयोग गर्नुपर्दछ । यो अभियानले रंगशाला मात्रै बन्दैछैन, लाखौं धुर्मसहरु जन्मनुपर्दछ भन्ने प्रेरणा र ऊर्जा पनि दिइरहेको छ । स्रोत : अनलाईनखबर