भारत फिरोजाबादमा बस र ट्रक ठोक्किँदा १४ को मृत्यु
भारतको फिरोजाबाद नजिक आगरा–लखनउ एक्सप्रेस वेमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ३० जनाभन्दा धेरै घाइते भएका छन् ।
भारतको उत्तर प्रदेशको शहर फिरोजाबाद नजिक दिल्लीबाट बिहारको मोतिहारीतर्फ गइरहेको बस दुर्घटना भएको फिरोजावाद प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा अहिलेसम्म १४ जनाको ज्यान गएको जनाएको छ ।
भारतको राजधानी दिल्लीबाट बिहारको मोतीहारीका लागि छुटेको बस ट्रकसँग ठोक्किँदा बसमा रहेका १३ जना र ट्रक चालकको ज्यान गएको हो । घाइतेहरुको सैफईको एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा झण्डै ५० जना सवार थिए ।
अस्पतालका मेडिकल अफिसर डाक्टर विश्वदीपकका अनुसार १३ जनालाई मृत अवस्थामा अस्पतालमा ल्याइएको थियो घाइते भएका ३१ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।