२ करोडको संरचना प्रयोग विहीन, भत्काउदै उपमहानगरपालिका

हेटौंडा उपमहानगरपालिका कार्यालयले प्रयोगनै नगरी २ करोड रुपैयाँको लागतमा बनेको संरचना भत्काउने भएको छ ।
हेटौंडा ४ हुप्रचौरमा १६ वर्षअघि निर्माण गरिएको सभागृह प्रयोगनै नगरी उपमहानगरपालिकाले भत्काउने तयारी गरेको हो । गलत डिजाइन र प्रयोग गर्न नमिल्ने भन्दै उपमहानगरपालिकाले एक पटक पनि प्रयोग नगरी सभागृह भत्काउने तय गरिसकेको छ ।
२०६० सालमा स्थानीय विकास मन्त्रालयको जगेडा कोषबाट एक करोड २० लाख र तत्कालीन नगरपालिकाको आफ्नै स्रोतबाट ७० लाख गरी २ करोड लागतमा निर्माण गरिएको सभागृह भत्काउने तयारीमा उपमहानगरपालिका जुटेको हो । तत्कालीन अवस्थामा पूर्वराजा ज्ञानेन्द्रको नाम दिइएको सभागृहलाई लोकतन्त्रपछि सहिद बासुदेव घिमिरे सभागृह नामकरण गरिएको थियो ।
सहिदको सम्मान र सम्झनामा सभागृहको नाम परिवर्तन गरेपनि प्रयोग गर्न मिल्ने अवस्थामा परिणत गर्न लामो समयसम्म चासो देखाइएन । जनप्रतिनिधिविहीन भएको अवस्था अलपत्र सभागृह प्राविधिक दृष्टिकोणले उपयुक्त नभएको भन्दै प्रयोग नगरिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले बताए ।
यसकारण भत्काईंदै सभागृह
निर्माणपछि १६ वर्षसम्म प्रयोगविहिन बनेको सभागृहलाई पुनर्निर्माण गर्न करिब १५ करोडभन्दा बढी खर्च हुने भएपछि भत्काउने तयारी गरिएको उपमहानगर प्रमुख महतले बताए ।
इको सिस्टम, भवनको संरचनामा प्राविधिक कमजोरीका कारण प्रयोग गर्न मिल्ने अवस्था नभएपछि जीर्ण बनिसकेको सभागृह भत्काउनुको विकल्प नरहेको महतले दाबी गरे । उनले पुनर्निर्माण गरेर प्रदेश सभा संसद संचालन गर्न सकिने भनेपनि प्रदेश सरकारले छुट्टै भवन निर्माण गर्ने तयारी गरेपछि भत्काइने भएको बताए ।
‘त्यो बेला कसरी बनाइयो, तर अब यसलाई पुनर्निर्माण गरेर संचालन गर्ने अवस्था छैन,’ उनले भने ‘प्राविधिकको प्रारम्भीक प्रतिवेदनले सभागृह संचालनका लागि उपयुक्त नभएको भनेपछि भत्काउने तयारी गरिएको हो ।’
प्रयोग नहुँदा दुर्व्यवहार अखडा
निर्माणपछि एक पटकपनि प्रयोगमै नआइ जीर्ण बनेको सभागृह दुव्र्यसनको अखडा बनेको छ । खुला क्षेत्र भएका कारण लागूऔषध प्रयोगकर्ताको लागि दुव्र्यसनको अखडा बनेको हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलले बताए ।
उनले अखडासँगै यौन क्रियाकलापसमेत भएको स्थानीयले गुनासो गर्न थालेपछि भत्काएर नयाँ संरचना बनाउनेतर्फ चासो देखाइएको दाबी गरे । ‘जीर्ण भवनभित्र लागूऔषध प्रयोग र यौन क्रियाकलापसमेत गरेको पाइएको छ,’ उनले भने ‘यस्तो हुँदा स्थानीय त्रसित भएका छन्, त्यसकारण पनि हामीले नयाँ विकल्प खोजेका हौं ।’
सभागृह भत्काएर कमर्सियल भ्यूटावर बनाइने
हेटौंडा उपमहानगरपालिकाले सभागृह भत्काएर कमर्सियल भ्युटावर निर्माण गर्ने योजना अघि सारेको छ ।
प्रयोगविहीन बनेको सभागृह भत्काएर सोही क्षेत्रमा बासुदेव स्मृति कमर्सियल भ्यूटावर निर्माण गरिने योजना उपमहानगरपालिकाले अघि सारेको हो । बागमती प्रदेश सरकारसँगको साझेदारीमा २५ करोड लागतमा भ्यूटावरसहितको कमर्सियल भवन निर्माण गरिने उपमहानगर प्रमुख हरिबहादुर महतले बताए ।
उनले ७ तले भ्यूटावरमा रेष्टुरेन्ट, होटल, व्यवसायिक सटर कवलहरु, मिनी हल, सिनेमा हल, जीम हाउस र माथिल्लो भागमा भ्यूटावर निर्माण गर्ने योजना बनाइएको जानकारी दिए । कमर्सियल भवन उपमहानगरपालिकाले भाडामा संचालन गर्ने र आन्तरिक आय स्रोतलाई बलियो बनाउने रणनीति अवलम्बन गरिएको उनले बताए ।
स्रोतः नयाँ पत्रिका दैनिक