मुस्लिम समुदायले गर्न लागेको धार्मिक सभा रोक्न गृह मन्त्रालयले आदेश
सप्तरीमा मुस्लिम समुदायले गर्न लागेको धार्मिक सभा अगाडि नबढाउन गृह मन्त्रालयले आदेश दिएको छ ।
आयोजकले प्रतिबद्धता पूरा नगरेको भन्दै मुस्लिम समुदायको धार्मिक सभामाथि मन्त्रालयले रोक लगाएको हो ।
धार्मिक सभामा नेपालसहित भारतका मात्रै मुस्लिम धर्माम्बलीको सहभागिता हुने बताइए पनि विश्वका धेरै देशका मुस्लिम धर्मावलम्बीहरुको सहभागिता गराइएको भन्दै गृह मन्त्रालयले कार्यक्रममा रोक लगाएको स्रोतले जनाएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालका अनसार गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गर्न आदेश दिएको हो ।
आयोजकहरुद्वारा नेपाल र भारतका मात्रै मुस्लिम धर्माम्बली बोलाउने जनाइए पनि विश्वका विभिन्न देशबाट मुस्लिमहरु आएका कारण मन्त्रालयबाट यो कार्यक्रम नगर्न भनिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जनाएको छ ।
गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्ने आदेश दिएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले बोदे बर्साइन नगरपालिकाको जाँजरमा ठूलो संख्यामा प्रहरी खटाएको छ ।
बिहीबार दिउँसो ४ बजेदेखि नेपाल-भारत सीमासमेत सिल गरिएको सप्तरी जिल्ला प्रशासनले जनाएको छ ।
सप्तरीको बोदे बर्साइन नगरपालिकामा आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म यो धार्मिक सभाको आयोजना गरिने तयारी थियो । कार्यक्रमका लागि करिब २ करोड खर्च भईसकेको आयोजक समितिले जनाएको छ ।











