प्रेम प्रस्ताव अस्वीकार भएपछि प्रहरी जवानले आफ्नै दाहिने कोखामा हाने गोली
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गोली हानेका छन् । सर्लाही वहुअर्वा गाउँपालिका ६ स्थायी घर भइ जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायको सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि गोली हानेका हुन्।
गोली लागि सख्त घाइते भएका प्रहरी रायलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि एम्बुलेन्सबाट काठमाडौं लगिएको प्रहरी प्रमुख एसपी रन्जु सिग्देलले जनाएको छ । प्रहरी रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइफल खोसेर आफ्नै दाहिने कोखामा गोली हानेका छन्।
प्रहरी स्रोतका अनुसार प्रेम प्रस्ताव अस्वीकार हुँदा केहीबेर वादविवाद भइ राइफल खोसेर रायले आत्महत्याको प्रयास गरेका हुन्। आज प्रणय दिवस पनि भएकाले उनले ड्यूटीमा रहेकी ती महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए। दुवै प्रहरी अविवाहित हुन्।