मन्त्रीलाई कालोमोसो दल्न पुगेका दर्जनभन्दा बढी युवा पक्राउ
प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर साहलाई कालोमोसो दल्न पुगेका एक दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको रमदैया भवाडीस्थित जानकी मेडिकल कलेज नजिकबाट दिनेश यादव, रोशन मिश्रलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार आफ्नै पार्टीका एक कार्यकर्तालाई अपशब्द प्रयोग गरेर अपमान गरेको भन्दै खोपसम्बन्धी कार्यक्रममा सहभागी हुन मेडिकल कलेज पुगेका मन्त्री साहमाथि कालोमोसो दल्न उनीहरु गएका थिए ।
मन्त्री साहलाई कालोमोसो गर्ने योजना बनाएर नाराबाजी गरिरहेको राजपाका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय, धनुषाबाट पुगेको प्रहरी टोलीले पक्राउ गरेको हो ।
राजपा धनुषाका जिल्ला अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानु र मन्त्री साहबीच शुक्रबार साँझ भएको विवादपछि अवस्था तनावग्रस्त बनेको थियो ।
ज्ञानेन्द्र झाले मन्त्री साहले आफूलाई औकातमा ल्याइदिने भन्दै दुव्र्यवहार गरेको आरोप लगाउँदै मन्त्री साहलाई कालोमोसो दल्ने उद्घोष नै गरेको थियो ।