कोरोना भाइरस: नेपालमै मास्क पाउन मुस्किल, मास्कमै हुन थाल्यो कालोबजारी
कोरोना भाइरसको संक्रमण (कोभिड १९) रोक्ने (एन नाइन्टी फाइभ) मास्क मात्र नभई नेपाल उत्पादन हुने सर्जिकल मास्कमा कालोबजारी हुन थालेको छ । नेपालमा मास्क करिब ७५ प्रतिशत चीनबाट आयात हुने गरेको छ । तर, चीनले मास्क पठाउन छोडेपछि नेपालमा मास्कको अभाव भएको औषधि व्यवसायी संघले जनाएको छ ।
औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले नेपालमा चीन र भारतबाट मास्क आउने गरेको बताए । नेपालमा भारतबाट २५ प्रतिशत र चीनबाट ७५ प्रतिशत मास्क आउने गरेकोमा चीनले जनवरी ३१ मा मास्क पठाउन रोकेपछि अभाव देखिन सुरु भएको उनले बताए ।
“मास्क चीन र भारतबाट आयात हुने गरेकोमा हाल दुवै देशले निर्यात ठप्प पारेका छन्,” उनले भने, उनका अनुसार नेपालमा मास्क उत्पादन गर्ने दुई कम्पनी रहे पनि तिनको उत्पादनले बजारको माग धान्न सक्ने अवस्था छैन ।
हाल भएको मास्कको अभावबाट मुक्त हुन अन्य देशबाट आयात गर्ने विषयमा उद्योग मन्त्रालय र स्वास्थ्य जनसंख्या मन्त्रालयसँग छलफल गर्ने तयारी रहेको उनले बताए । उनले नेपालमा मास्क उत्पादन गर्ने उद्योगहरूलाई उत्पादन बढाउन पनि आग्रह गर्ने बताए ।
औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले पछिल्लो समय नेपालमा मास्क नै नपाउने गरेको बताए । “नेपालमा नै मास्क उत्पादन गर्न त्यसलाई चाहिने कच्चापदार्थभन्दा भारतबाट ल्याउनुपर्ने हुन्छ, जसमा भन्सार कर ३५ प्रतिशतसम्म लागत लाग्छ तर मास्क ल्याउँदा १५ प्रतिशत मात्र भन्सार लागत लाग्ने हुँदा नेपालमा मास्क उत्पादन कम भएको हो,” उनले भने, “नेपालमा मास्क बढी चीनबाट आउने गरेको छ ।”
उनले भने, “एन ९५ मास्क चीनबाट आयात गरिन्थ्यो जसको नेपाली मूल्य २ सयदेखि ५ हजारसम्म पर्छ तर पछिल्लो समयमा मास्कको अभाव हुन थालेपछि त्यसको पनि कालो बजारी बढेको छ ।” एउटा मास्क खरिद गर्ने मानिसले दुई–तीन वटासम्म खरिद गर्ने गरेको देखिन्छ । जुन आवश्यकताभन्दा बढी खरिदका कारण पनि अभाव भएको उनको भनाइ छ ।
जनस्वास्थ्य विद् डा।रविन्द्र पाण्डेले चीनको वुहानमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि मास्क र स्यानिटाइजको कृत्रिम अभाव रहेको बताए । “अहिले नेपालमा उत्पादन हुने मास्क सर्जिकल मास्क हो जुन मास्क चिकित्सकले बिरामीको शल्यक्रिया गर्दा नाक, मुखबाट थुकका छिटा नजाओस् भनेर प्रयोग गरिन्छ,” उनले भने, “सर्जिकल मास्कले आँखाले नदेख्ने प्रदूषण भने रोक्दैन ।”
रसायन तथा मेडिकल आपूर्ति संघका महासचिव विनोद मानन्धरले एन नाइन्टिफाइभ मास्क अहिले बजारमा मास्क अभाव भएको बताए । “यो मास्क नेपालमा नेपालमा उत्पादन हुँदैन, स्टक समेत मौज्दात छैन,” उनले भने, “एन नाइन्टिफाइभ मास्क अस्पतालहरूमा बिक्री गर्ने हो, पहिला–पहिला कम मात्रामा माग हुन्थ्यो, अहिले कोरोना भाइरसको संक्रमणपछि माग ह्वात्तै बढ्दा अभाव भएको हो । ”
औषधि व्यवस्था विभागले बजारमा मास्कको अभाव देखिन सक्ने भन्दै माघ १७ गते रसायन तथा मेडिकल आपूर्ति संघलाई पत्राचार नै गरेर ग्लोभ्स, मास्क, र ह्यान्ड स्यानीटाइजरको मौज्दात राख्न आग्रह समेत गरेको थियो ।
त्यसैगरी, मास्क अभाव भएको भन्दै व्यवसायीहरूले ५ रुपैयाँ पर्ने सर्जिकल मास्कलाई २० रुपैयाँसम्म लिने गरेका छन् भने एन नाइन्टिफाइभ मास्क जसको मूल्य ७ सय पर्नेलाई ६ हजारसम्म लिने गरेको उपभोक्ता बताउँछन् । यसरी मास्कमा कालोबजारी मौलाइरहँदा सरकार भने हस्तक्षेपकारी भूमिका खेलेको छैन ।
औषधि व्यवस्था विभाग माक्समा भएको भनिएको कालोजारी आफूले हेर्न नमिल्ने बताउँदै आएको छ । उक्ता, उपभोक्ता हित संरक्षण विभागले भने औषधि व्यवस्था विभागसँग मास्कबारे जानकारी राख्ने व्यक्तिलाई अनुगमन टोलीमा राख्न औषधि व्यवस्था विभागसँग नाम मागिएको बताएको छ ।
चिकित्सकहरु अन्य मास्क नपाउँदा कपडाको मास्क प्रयोग गर्न सकिने बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोला कोरोना संक्रमणको डरले मानिसहरू मास्क खोजेर हिंड्नभन्दा भिडभाडमा नजाने, कतै गएर आउने बितिकै साबुनपानीले हात धुने व स्यानिटाइजको प्रयोग गर्न सुझाव दिन्छन् ।
नेपालमै उत्पादन हुने सर्जिकल मास्कले कुनै पनि संक्रमण नरोक्ने भए पनि नेपालमा नै कोरोना प्रभावित क्षेत्रमा रहेका नेपाली उद्धार गरेर ल्याउँदा कतै सर्छ कि भने अझ डराएर मास्क महँगो मूल्य तिरेर भए पनि किन्ने गरेको स्वास्थ्य विज्ञ बताउँछन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई केही साता अघि एकलाख थान मास्क हस्तान्तरण गरेका थिए । स्रोत: १२खरी