मुख्यमन्त्री पौडेल र पतञ्जलीका सिइओ बालकृष्णबीच भेटवार्ता
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र आयुर्वेदका ज्ञाता तथा भारतीय कम्पनी पतञ्जली आयुर्वेदका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्णबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पौडेलले नेपालमा जन्मेर आयुर्वेदको क्षेत्रमा विश्वचर्चित बन्न सफल भएकामा बधाई ज्ञापन गर्दै आचार्यप्रति आफूहरुले गर्व गर्ने गरेको बताएका छन् । मुख्यमन्त्री कार्यालय हेटौंडामा भएको भेटवार्ताका क्रममा पौडेलले आयुर्वेदको विद्वत्वलाई आफ्नो जन्मभूमिको समृद्धिमा समेत प्रयोग गर्न अनुरोध गरेका छन् ।
पौडेलले बागमती प्रदेश सरकार जडीबुटीहरुको अध्ययन अनुसन्धान गरेर त्यसबाट लाभ लिन इच्छुक रहेको बताउँदै त्यसका लागि वातावरण निर्माण गर्न तयार रहेकाले लगानी भित्र्याउन अनुरोध पनि गरे । आचार्य बालकृष्णले नेपालका बहुमूल्य जडीबुटीहरुको अवैज्ञानिक दोहन भइरहेको बताउँदै नेपालमा रहेका बहुमूल्य जडीबुटीहरु अन्यत्रबाटै किनेर त्यसबाट आफूहरुले औषधि बनाएर नेपालमा नै पठाइरहेको बताएका छन् ।
नेपालमै उद्योग वा प्रशोधन केन्द्रहरु खोल्न सके देशले बढी आम्दानी गर्न सक्ने समेत उनले बताए । जडीबुटी उखेल्ने काम भएको तर त्यसको बदलामा रोपण वा त्यसको वृद्धि विकासका कुनै पनि काम नभएको उनको भनाइ छ । त्यसो हुँदा अघिल्लो वर्ष प्रसस्त पाइरहेको जडीबुटीहरु झन् कम हुँदै गएको पाइएकाले त्यसतर्फ बेलैमा सोच्न जरुरी रहेको उनले सुझाव दिए।










