क्रसरवालाको धम्कीः आफ्नो विरुद्ध बोल्नेलाई जेसिबीले मारेर खाल्टो खनेर गाडिदिनु
महोत्तरीको भंगहा नगरपालिका–४ स्थित रातु खोलाको दोहोन निर्वाधरूपमा भइरहेको छ । भंगहा नगरपालिकाले खोला उत्खनन गर्ने ठेक्का लगाएको छ ।
अनुगन गर्ने जिम्मा जिल्ला समन्वय समितिको छ । गैरकानुनी काम रोक्न प्रहरी छ । तर, खोलको अवैध उत्खन्न गर्ने ठेक्केदार र क्रसर चलाउनेप्रति कसैको नजर परेको छैन । मापदण्ड विपरित नदी उत्खन्न र क्रसर बन्द गराउन आन्दोलित हुँदा पनि सुनवाइ भएको छैन ।
भंगहा नगरपालि ४ र ६ नम्बर वडास्थित रातु खोलाको किनारमा एक दर्जन क्रसर संचालनमा छन् । ती सबै मापदण्ड विपरित संचालनमा छन् ।
मापदण्ड मिचेर बालुवा, गिटी झिक्दा नगरपालिका मौन बसेको स्थानीयको आरोप छ। जनताले विरोध गर्दा उल्टै ज्यान मार्ने धम्की दिने र प्रहरी प्रशासन पनि ठेक्केदार र खोला खन्ने क्रसर डनको पक्षमा भइदिने गरेको स्थानीयको गुनासो छ ।
क्रसर व्यवसायीले आसपासको क्षेत्रका स्थानीयलाई डर र त्रासमा राखेका छन् । ‘अवैध उत्खनन् विरुद्ध बोल्नेलाई क्रसरवालाले फर्जी डाँका मुद्दा लगाएर डर, त्रास देखाएको छ,’ भंगहा–४ रामनगर बिर्ताका हिरालाल महतो भन्छन्,‘ जो आउँछ, त्यसलाई जेसिबीले मारेर खाल्टो खनेर गाडिदे भनेर क्रसरवाला धम्की दिन्छन् ।’ रातु खोलास्थित रामेश्वरनाथ सामुदायिक वनको २ विघा ४ कठ्ठामा लगाएको वन मासेर तीनवटा क्रसर खोलिएको उनले बताए ।
ज्यानै मार्ने धम्की अब नौलो रहेन । गत २५ पुषमा खोलाको अवैध उत्खन्न रोक्न गएका धनुषाको श्रीपुरका दिलिप महतोको क्रसर डनले खोलामै हत्या गरे । रातु खोलामा अवैध उत्खन्न रोक्न गाउँले लिएर गएका चारजनामाथि क्रसरवलाले पैसा लुटेको भन्दै प्रहरीमा डाँका मुद्दा हालेर दुःख दिएको गाउँले बताउँछन् ।
हिरालालाका छिमेकी विनोद महतोले स्थानीय सरकारको मिलोमतोमा अवैध उत्खन्न भइरहेको आरोप लगाए । ‘रातभरि खोला खनिन्छ, जेसिबी र टिपर कुद्छन्,’ यसले किसानको उठिबास हुने निश्चित रहेको उनले सुनाए ।
सरकारले तीन फिट खन्ने इजाजत दिएको छ । ठेक्केदारले १० देखि ३० फिटसम्म खाल्टो खनेर बालुवा गिट्टी झिकेका छन् ।
भंगहा नगरपालिका–४ का वडा अध्यक्ष अशोक महतोले ठेक्केदारले मापदण्ड विपरित खोला खनेर बदमासि गरेको बताए । ‘क्रसर चलाउन मैले वडाबाट सिफारिस दिएको हुँ । तर, सिफारिस दिँदा कसैसँग आर्थिक लेनदेन गरेका छैनौं ।’
खोला खनेर गहिरो बनाउँदै पैनि (नाला) मा चढ्न नसकेको किसान गंगाप्रसाद महतोले सुनाए । ‘उत्खननले खोलालाई बर्बाद पारिसक्यो।’ मापदण्ड विपरित खोलामा खनिँदा दुई सय विघा जमिनमा सिचाई प्रभावित बनेको उनले सुनाए ।
उत्खननले खोला किनारमा लगाएको तट्बन्धन पनि धरापमा परेको छ । प्रत्येक वर्ष नदीले बहाव फेर्दा खेती योग्य जमिन बगर बन्दै आएको छ ।
जतीसम्म गिट्टी आउँछ, त्यति गहिरो खाल्टो खन्दा खोलाको प्राकृतिक स्वरुप फेरिएको छ । भूमीगत पानीको श्रोत हराउँदो छ । चैत्र–वैशाख नलाग्दै इनार, बोडिङ्ग, कुवा सबै सुक्न थालिसकेका छन् । अवैध उत्खन रोक्न वडा कार्यालय, नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ सय जनाको हस्ताक्षरसहितको निवेदन हाल्दा पनि कुनै सुनवाइ नभएको सन्तोष महतो बताउँछन् ।
जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले अबैध क्रसर र खोला उत्खन्नविरुद्ध क्रसर बन्द गराएको बताए । ‘अबैध उत्खननमा संलगन टिपर जेसिबीलाई धामाधाम प्रहरी नियन्त्रणमा लिएर जरिवाना गरिरेका छौं,’उनले भने,‘ तपाईंहरु जे देख्नु हुन्छ त्यो लेख्नुस्, हामी आफ्नो दायरमा रहेर काम गरिरहेका छौं, अवस्था यही हो जुन तपाईंले हेरिरहनु भएको छ।’ क्रसर बन्द गराएर स्टोक प्रमाणित गरेर पठाउन पालिकाहरूलाई पत्रचार गरेको उनले बताए । तर, स्टोक प्रमाणित गरेर गौशाला बाहेकका नगरपालिकाले पठाएको छैन । क्रसर निर्वाध रूपमा संचालनमै छन् ।
स्रोतः अन्नपुर्ण पोष्ट