आउँदो फागुण ९ बाट गढीमा महायज्ञ हुने
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा यही आउँदो फागुण ९ गतेदेखि १५ गतेसम्म श्रीमद्भागवत महायज्ञ आयोजना हुने भएको छ । श्रीकृष्ण प्रणामी मन्दिर, सामरीको आयोजनामा हुने महायज्ञलाई भागवत वाचिका तारा घिमिरेले वाचन गर्ने जनाईएको छ ।
महायज्ञबाट संकलित रकम भूकम्पबाट क्षतिग्रस्त गढी–५ को श्रीकृष्ण मन्दिरको पुनर्निर्माणमा खर्च गरिने हेटौंडामा आज आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको छ । सो मन्दिर निर्माणका लागि गढी गाउँपालिकाले १७ लाख रुपैयाँ समेत प्रदान गरेको छ ।
करीब १३ लाख रुपैंया खर्च अनुमान गरिएको महायज्ञबाट करीब ३० लाख रुपैया सँकलन गर्ने लक्ष्य लिएको प्रचारप्रसार समितिका संयोजक देवीप्रसाद अधिकारीले बताएका छन् ।
आगामी दिनमा असहाय बालबालिकाहरुका लागि बालाश्रम समेत निर्माण गरिन लागेको आयोजकले जनाएको छ । महायज्ञलाई प्रतिनिधि सभा सदस्य विरोध खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।