प्रजातन्त्र दिवसको अवसरमा पदमपोखरीका गोले रिहा

हेटौडा न्युज
७ फाल्गुन २०७६, बुधबार २३:४५
;

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा बमकाण्डका दोषी मकवानपुर पदमपोखरी पानतलेका संयुक्त जातीय मोर्चाका नेता बुद्धिबहादुर गोले आज रिहा भएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोलेको कैद सजाय मिनाहा गरेकी हुन्।

राष्ट्रपति भण्डारीले गोलेसहित ३ सय २९ जना कैदीको कैद सजाय मिनाहा गरेकी हुन्।

राष्ट्रपतिले कैद सजाय मिनाहा गरेकी गोले २०६८ साल फागुन १५ गते बबरमहलमा भएको बम विस्फोट गर्ने समूहको सदस्य रहेका थिए ।  उनलाई सर्वोच्च अदालतले २०७३ साल जेठ ३२ गते १५ वर्षको जेल सजाय सुनाएको थियो।

जगन्नाथदेवल कारागारमा कैद भुक्तान गरिरहेका ६७ वर्षीय गोलेलाई सरकारले छाड्नका लागि सिफारिस गरेको थियो। कुनै कैदीले सजायको आधा भुक्तान गरेपछि उसको चालचलन र व्यवहारको आधारमा बाँकी कैद सजाय मिनाहा गर्नसक्ने कानूनी व्यवस्था छ । 

सो विष्फोटमा परी धादिङ बैरेनीका २२ वर्षीय कृष्णबहादुर तामाङ र ७० वर्षीय वीरबहादुर लामाको घटनास्थलमै मृत्यु भएको थियो। सात जना घाइते भएका थिए।

सो घटनामा संयुक्त जातीय मुक्ति मोर्चाका प्रवक्तासमेत रहेका विश्वक्रान्तिसहित एक दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको थियो।
बम विस्फोट गर्नका लागि उपत्यकामा मोर्चाले गोलेलाई खटाएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*