मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रिय सभा अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।
बिहीबारको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले मन्त्री बाँस्कोटालाई बर्खास्त, कमिसन मागेकोमा छानबिन र घटना सम्बन्धमा प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने माग राखे ।
‘सरकारका प्रवक्ताले यसरी ठाडै कमिसनको कुरा गर्न मिल्छ कि मिल्दैन ?’ उनले प्रश्न गरे । कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक फागुन १५ गतेसम्मका लागि स्थगित भएको छ ।