बागमती प्रदेशमा जेष्ठ पत्रकारलाई पेन्सन, घाइतेलाई ३० हजार र रोगबाट थलिएकालाई ७५ हजार
बागमती प्रदेशले ३० वर्ष पत्रकारिता गरेका र ६० वर्ष पुगेका पत्रकारलाई पेन्सन दिने व्यवस्था सुरु गरेको छ । जेष्ठ पत्रकारलाई मासिक ३ हजारका दरले पेन्सन दिने व्यवस्था गरिएको हो । बागमती प्रदेशका प्रेस रजिस्टार रेवती सापकोटाका अनुसार यसका लागि यो वर्ष १५ लाख छुट्याइएको छ ।
सापकोटाले आगामी दिनमा डेढ करोड रुपैयाँको कोष बनाउने र त्यसबाट आउने ब्याजबाट पेन्सनको व्यवस्था गर्ने योजना रहेपनि त्यस्तो कोष सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई नभएका कारण समस्या परेको बताएका छन् ।
यस्तै दुर्घटनामा मृत्यु भएका पत्रकारका परिवारलाई ५० हजार आर्थिक सहायता दिने कार्यविधि पारित भएको सापकोटाले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई ३० हजार दिने र क्यान्सर तथा मृगौला रोगबाट थलिएका पत्रकारलाई ७५ हजारसम्म सहयोग गर्ने योजना बनाएको उनले जनाएको छ ।
यस्तै सुत्केरी महिला पत्रकारलाई प्रोत्साहन स्वरुप २० हजारका दरले ४ वटा फेलोसिप दिने योजना बनाइएको छ । सुत्केरी भएपछि धेरैजसो महिला पत्रकारले काम छोड्ने गरेका कारण उनीहरुलाई पेशामा टिकाइराख्नका लागि यो योजना अघि सारिएको उनले बताए ।
बागमती प्रदेशको प्रेस रजिस्टारको कार्यालयबाट हालसम्म ९० जना पत्रकारले परिचय पत्र लिएका छन् ।