बागमती प्रदेशमा बलात्कारको घटना बढ्दो, मकवानपुरमा १८ बालिका र ९ महिला बलात्कृत
बागमती प्रदेशमा बालिका बलात्कारको घटना निकै बढेको तथ्याङक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तकको तथ्याङक अनुसार, बागमती प्रदेशमा बालिका बलात्कारको घटना बृद्धि भएको देखिएको हो ।
प्रदेशमा ३ सय ८६ वटा बलात्कारको घटना भएको इन्सेकले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरीएको छ । जसमध्ये ६५ प्रतिशत बालिका बलात्कारको शिकार भएका छन् ।
बागमती प्रदेशमा सन् २०१९ मा २ सय ५३ जना बालिका बलात्कृत भएको इन्सेक बागमती प्रदेशका संयोजक कृष्ण गौतमले जानकारी दिएका छन् । प्रदेशका १३ वटा जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी बालिका बलात्कृत भएको गौतमले जनाएको छ ।
गत वर्ष काठमाडौंमा ९७ बालिका / ६४ महिला, मकवानपुरमा १८ बालिका / ९ महिला महिला, भक्तपुरमा २१ बालिका / ११ महिला, ललितपुरमा ३१ बालिका / १४ महिला र दोलखामा ९ बालिका र ३ महिला बलात्कृत भएको जनाएको छ ।
त्यस्तै सिन्धुलाल्चोकमा १७ बालिका / ६ महिला, धादिङमा ८ बालिका /१ महिला, नुवाकोटमा १० बालिका/ ५ महिला, काभ्रेमा ९ बालिका / ३ महिला, चितवनमा २९ बालिका / १६ महिला, सिन्धुली ९ बालिका / ५ महिला, रामेछापमा २ बालिका / १ महिला र रसुवामा २ बालिका बलात्कृत भएको इन्सेकले जनाएको छ ।